घट्यो कन्टेनर बोक्ने रेलको आगमन
पर्सा — तेस्रो मुलुकसँग आयात-निर्यात व्यापार हुने देशकै प्रमुख भन्सार नाका सिर्सिया सुक्खा बन्दरगाहमा ४ महिनायता कन्टेनर बोक्ने रेल्वे र्याकको आगमन घटेको छ । बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीको तथ्यांकअनुसार मे महिनायता भारतको कोलकाता, हल्दिया तथा विशाखापटनम बन्दरगाहबाट कन्टेनर बोकेर आउने रेल्वे र्याकको संख्या घटेको हो ।
मे महिनामा भारतीय बन्दरगाहहरूबाट कन्टेनर बोकेर आएको रेल्वे र्याकको संख्या ६७ रहेकोमा जुनमा ५१, जुलाईमा ४४ र अगस्टमा ५० वटा कन्टेनरवाहक रेल्वे र्याक आएका छन् ।
त्यसैगरी, मे महिनामा फलाम बोकेर ७ बीआरएन रेल्वे र्याक आएका थिए भने जुनमा ७, जुलाईमा ९ र अगस्टमा १७ र्याक आएका छन् । यसैगरी मेमा ८, जुनमा ९, जुलाईमा १५ र अगस्टमा २२ बीसीएन र्याक यो बन्दरगाहसम्म आइपुगेका हुन् ।
प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्मा तथ्यांकले प्रस्ट रुपमा तेस्रो मुलुकबाट मालबस्तु बोकेर आउने कन्टेनरको संख्या घटिरहेको र भारतबाट फलाम तथा डन्डी उद्योगका कच्चा पदार्थ, स्पन्ज आइरन र तेस्रो मुलुकबाट मलको आयात बढेको देखिएको बताउँछन् ।
‘एकातिर तेस्रो मुलुकबाट कन्टेनरमा मालबस्तुको आयात घट्दो छ,’ उनले भने, ‘अर्कोतिर फलामे डन्डी बनाउने उद्योगको कच्चा पदार्थहरू एमएस विलेट, क्वायल, एङ्गल, स्पन्ज आइरन, रासायनिक मल, चिनी आदिको आयात बढेको छ ।’
पछिल्लो ४ महिनायता कृषि सामग्री कम्पनी र नेसनल ट्रेडिङको मल भित्रिने क्रम बढेको र सरकारले स्पन्ज आइरनको भन्सार शुल्क घटाएर फलामे डन्डीको अन्य कच्चा पदार्थको भन्सार शुल्क यथास्थितिमै राखेकाले पनि स्पन्ज आइरनको आयात बढेको हुन सक्ने शर्मा बताउँछन् ।
‘यस बाहेक पर्सा-बारा औद्योगिक करिडोरका उद्योगले कच्चापदार्थ ल्याउने भारतको रक्सौल रेल्वे स्टेसन वर्षायाममा हिलाम्मे हुने गरेकाले यस्ता वस्तु आयात गर्न सुक्खा बन्दरगाह रोजेको हुन सक्छ,’ उनले भने, ‘कन्टेनरको आगमन घट्नुमा नेपाल सरकारले कतिपय वस्तुको आयातमा लगाएको प्रतिबन्ध र एलसी खोल्नमा कडाइलगायतका कारण हुन सक्छन् ।’
प्रकाशित : आश्विन ५, २०७९ १७:१०