२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

सिरहामा आत्महत्या बढ्दो

एक सातामा ४ आत्महत्या घटना
भरत जर्घामगर

सिरहा — घटना १ : ३१ भदौं शुक्रबार सिरहा नगरपालिका-२१ लगडीगोठस्थित बोर्डर आउट पोस्टमा कार्यरत २६ वर्षीय गिरिजानारायण श्रेष्ठ रुखमा झुन्डिएको अवस्थामा फेला परे ।

सिरहामा आत्महत्या बढ्दो

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार बिहान साथीहरूसँगै ड्युटीमा निस्किएका उदयपुरको ताप्ली गाउँपालिका–३ का सशस्त्र प्रहरी जवान श्रेष्ठ शौच गर्न रुख भएको बगैँचातिर गएका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटना शुक्रबार बिहान साढे ६ बजेतिर भएको र घटनाको मुचुल्का गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

घटना २ : २९ भदौ बुधबार लहानका एक व्यवसायी झुन्डिएको अवस्थामा भेटिए । लहानमा हिरो मोटरसाइकलको सोरुम, कृष्णा ज्वेलरी र आईएमई मनी ट्रान्सफर सञ्चालन गरिरहेका लहान नगरपालिका–१ का ५३ वर्षीय रामआशिष महतो मोटरसाइकल सोरुम रहेको घरको चौथो तल्लामा झुन्डिएको अवस्थामा भेटिए । लहानका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार भित्रबाट ढोकाको चुकुल लागेकाले भेन्टिलेसन फुटाएर हेर्दा उनलाई झ्यालको पर्दाको डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएको हो । महतो झुन्डिएको कोठामा तीन-चार पृष्ठको हस्तलिखित कागजसमेत भेटिएको प्रहरीले जनाएको छ । बुधबार साँझ ६ बजेतिर धनगढीमाई कुर्वाका आफ्ना साथी राजेश साहलाई मोटरसाइकलमा धनगढी पुर्‍याएर करिब ७ बजेतिर उनी लहान फर्किएका थिए । तर, राति करिब ९ बजेसम्म घर नपुगेपछि परिवारले खोजी गर्ने क्रममा मोटरसाइकल सोरुम रहेको घरमा झुन्डिएको अवस्थामा देखेको बताइएको छ ।

घटना ३ : २७ भदौ सोमबार लहान नगरपालिका–६ श्रीराम कोलोनीस्थित भाडाको घरमा सञ्चालन गरिएको होस्टेलमा बस्दै आएका एक विद्यार्थी झुन्डिएको अवस्थामा सोमबार बिहान भेटिए । लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै आएका सप्तरी कल्याणपुर नगरपालिका–७ का राजन पासवान सोमबार बिहान होस्टेलमै झुन्डिएको अवस्थामा मृत भेटिएको थिए । सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का मुकेश यादवले ताहिर अन्सारीको घरको भुइँ र पहिलो तला भाडामा लिएर करिब तीन वर्षदेखि होस्टेल सञ्चालन गर्दै आएका थिए । बिहान छिमेकीहरुले होहल्ला गरेपछि होस्टेल रहेकै घरको बाहिरपट्टिको छतबाट नाइलनको डोरीमा करिब १५ फिट तल झुन्डिएको अवस्थामा मृत भेटिएको थियो ।

घटना ४ : २२ भदौं बुधबार लहान नगरपालिका–१० स्थित ग्रामीण चौंकमा आफ्नै घरको कोठामा २० वर्षीया पूर्णिमा यादव झुन्डिएको अवस्थामा मृत फेला परिन् । पति जागिरमा गएको र एक्लै घरमा बस्दै आएकी यादवले बुधबार राति झुन्डिएको अवस्थामा मृत फेला परिन् । ढोका लागेको र भेन्टिलेसनबाट हेर्दा झुन्डिएको देखिएपछि भोलिपल्ट बिहान आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

घटना ५ : २७ जेठ शुक्रबार लहान नगरपालिका–६ स्थित मेरी चिल्ड्रेन स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया शान्ति नेपाल होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परिन् ।

यी प्रतिनिधि घटनाले सिरहामा ‘आत्महत्या’ घटनादर बढ्दो छ । भदौं महिनामा मात्र चारवटा आत्महत्या घटना भएका छन् । तीमध्ये लहान बजार क्षेत्रमै चारवटा आत्महत्याका घटना भएका छन् । अझ पूर्णिमा यादव र आत्महत्या भनिएको राजन पासवानको घटनास्थल दुई सय मिटरको दूरीमा अवस्थित छन् । शान्ति नेपालले गरेको आत्महत्या र राजनको घटनास्थल ५० मिटर दूरीमा अवस्थित छ । ती स्थानबाट लहानका प्रसिद्ध व्यवसायी रामआशिष महतोको आत्महत्यास्थल दुई किलोमिटर दूरीमा छ । प्रहरीका अनुसार अधिकांश आत्महत्याको प्रकृति झुन्डिएको अवस्थामा भेटिएको छ । यस अलावा विषसेवन गरी समेत आत्महत्या गरेको पाइएको छ । सातादिनको अवधिमा लहान क्षेत्रमा आत्महत्या दर बढेपछि स्थानीयमा त्रास पैदा भएको छ ।

‘आत्महत्या’ घटना वृद्धि हुनुमा ‘मानसिक तनाव,’ र ‘घरेलु हिंसा’ मुख्य कारक मानिएको छ । अधिकांश घरायसी उल्झनकै कारण आत्महत्या क्रम डरलाग्दो रुपमा बढेको हो ।

त्यसका अलावा समाजशास्त्री र अधिकारकर्मीहरूको जीवनप्रति चरम वितृष्णा, अपूर्ण मनहरुले मानसिक तनाव बढेपछि अन्तिम विकल्पमा ‘आत्महत्या’ तहमा पुग्नु र युवापुस्तामा पछिल्लो पटक सामाजिक सञ्जालका गलत प्रभावले पनि ‘आत्महत्या’ गर्ने दर बढेको ठम्याइ छ ।

सिरहा प्रहरीको तथ्यांकअनुसार गत वर्ष झुन्डिएर र विषसेवन गरी १८९ जनाले आत्महत्या गरे । यो अहिलेसम्मकै उच्च दर हो । तीमध्ये महिला ८६, पुरुष ७१, बालक ८ र २४ बालिकाले आत्महत्या गरेका छन् । प्रहरीको तथ्यांकअनुसार भदौमा मात्र ५ आत्महत्याका घटना भएका छन् । तीमध्ये लहान नगरपालिकामा ४ आत्महत्या घटना भएका छन् । आत्महत्या घटनामा दिनानुदिन वृद्धि भएपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ । सिरहामा आर्थिक वर्ष २०७६/७७ मा १४४ र २०७७/७८ मा १४४ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।

सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जिल्लामा आपराधिक गतिविधी न्यूनीकरण भए पनि ‘आत्महत्या’ घटना डरलाग्दो रुपमा बढेको बताए । ‘आत्महत्याको तथ्यांकले यो दर बढेको छ‚’ उनले भने‚ ‘यसलाई कम गर्न गाउँ गाउँमा पुगेर जनचेतनामूलक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने आवश्यकता छ; यसका लागि ठाउँ ठाउँमा जनचेतनामूलक सडक नाटकहरु प्रदर्शन गर्दै आएका छौं ।’

मानसिक तनाव बढेपछि अन्तिम विकल्पमा आत्महत्या गर्न बाध्य भएको हुनसक्ने बताउँछन् जेएस मुरारका क्याम्पसका मनोविज्ञान विभागका प्राध्यापक कन्हैया भट्ट । ‘घरेलु हिंसापछि अर्को कारण मानवले समय, परिस्थिति र सामाजिक व्यवस्थाका कारण कतिपय इच्छा पूरा गर्न सक्दैनन्; त्यसपछि जीवनप्रति चरम वितृष्णा जाग्छ‚’ उनले भने‚ ‘त्यही चरम वितृष्णाले आत्महत्या गर्न पुग्छन् ।’ आत्महत्या तहमा पुग्नुभन्दा अघि मानिसको मनमा अनावश्यक आइरहने तर्कनाहरूबाट मुक्त भएर जीवनलाई जस्ताको तस्तै अनुभूत गर्नु र मनबोल उच्च राख्न प्राध्यापक भट्ट सुझाउँछन् ।

समाजशास्त्रका सह प्राध्यापक शोभितलाल चौधरी बाँच्नका लागि त्यसमा पनि सुख र मस्तिपूर्वक बाँच्नका लगि मानिसले प्रसिद्धि, पैसालगायत सुख खोज्ने मानवीय स्वभावले उब्जाउने दु:ख र विषादले गर्दा पनि मानिस आत्महत्याको तहसम्म पुग्ने गरेको बताउँछन् ।

‘पछिल्लो पटक युवा पुस्तामा सामाजिक सञ्जालको गलत प्रभावले पनि आत्महत्या घटना निम्त्याएको पाइन्छ‚’ उनले भने‚ ‘त्यसलाई थप बल आर्थिक अभाव र बेरोजगारीले थप बल पुर्‍याएको छ, त्यसैले युवापुस्ताले अत्महत्या गर्नुभन्दा चेतन मनलाई दरो बनाउन जरुरी छ ।’

प्रकाशित : आश्विन २, २०७९ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?