कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिटरब्याजले उठिबास

सूदखोरले कब्जा गरेको घरजग्गा र बढी लिएको रकम फिर्ता गरिदिन माग
सुनिता बराल

महोत्तरी — गाउँकै साहुसँग उनले १० वर्षअघि ४ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ब्याजको स्याज गर्दै केही महिनामै तिनुपर्ने रकम दोब्बर भयो । १६ महिनामा तिर्नुपर्ने रकम ३० लाख पुगेको साहुले बताएपछि उनी छाँगाबाट खसेजस्तै भइन् । त्यत्रो रकम कहाँबाट तिर्ने ? सर्लाही बयलबासकी ६१ वर्षीया कमला दाहालसँग कुनै उपाय थिएन । 

मिटरब्याजले उठिबास

साहु सञ्जय साह रौनियारले ऋण तिर्न ताकेता गर्न थाले । दाहालले भनेको समयमा पैसा तिर्न सकिनन् । उनले ऋण लिँदा बयलबास बजारनजिकको घरसहित २ कट्टा घडेरी दृष्टिबन्धक राखेकी थिइन् । रौनियारले त्यही घर र जग्गा कब्जा गरेपछि ३ वर्षदेखि दाहाल घरबारविहीन भई आफन्तको शरणमा छिन् ।

बजारमा रहेको करोडौं मूल्य पर्ने जग्गा सूदखोरले हडपेपछि यतिखेर उनी न्यायका लागि भौंतारिएकी छन् । रौनियारले धाकधम्की दिँदै घरजग्गा खाली गराउन बाध्य बनाएको उनले सुनाइन् । बन्दुक लिएर डर देखाउँदै घरमा आउने गरेकाले ज्यान जोगाउन घर छोड्नुपरेको उनको दुखेसो छ ।

महोत्तरीको भंगाहा नगरपालिका–२ का पीडित जगन्नाथ साह अहिले मिटरब्याजकै मुद्दामा दोषी ठहरिएका छन् । भंगाहा–५ का मिटरब्याजी अनिरुद्ध साहले जगन्नाथलार्ई एउटा भारतीय नम्बर प्लेटको गाडी दिएर बनाएको तमसुकका आधारमा उनलाई जिल्ला अदालत महोत्तरीले २ वर्षको जेल सजाय सुनाएको छ ।

२०७४ मा २ लाख ४० हजार रुपैयाँमा किनेको भारतीय कार उधारोमा जग्गन्नाथलाई अनिरुद्धले ९ लाख ९५ हजारको तमसुक बनाएर दिएका थिए । पैसा दिनुअघि आफ्नो नाममा गाडि नामसारी गरिदिन जगन्नाथले अनुरोध गरे पनि नामसारी भएको छैन । उल्टै पैसा नदिएको भन्दै जगन्नाथविरुद्ध ठगी मुद्दा पर्‍यो । तमसुकअनुसारको पैसा नपाएपछि आफ्नो बुबा विमुद्दा हालिएको जगन्नाथकी छोरी पुनमकुमारी सिंहले बताइन् ।

औरही नगरपालिका–१ महोत्तरीका गोविन्द चौधरीले ३ लाख ६० हजार ऋण लिएर साहुलाई ३१ लाख रुपैयाँ फिर्ता गरे । उनलाई तिर्नै नपर्ने मोटो रकम साहुले दृष्टिबन्धक राखेको जग्गा फिर्ता लिन बुझाउनै पर्ने बाध्यता पर्‍यो । गाउँकै सुशीलकुमार चौधरीले १० कठ्ठा १५ धुर जग्गा दृष्टिबन्धक राखेर दिएको पैसा तिरेको अलावा जग्गा फुकुवा गर्न ३१ लाख लिएको चौधरीले बताए । जग्गा फिर्ता लिनकै लागि बाध्यतावश बुझाएको ३१ लाखबाट आफूले तिर्न नपर्ने रकम फिर्ता पाउनुपर्ने भन्दै उनी मिटरब्याजविरुद्धको आन्दोलनमा छन् ।

मधेस प्रदेशमा मात्रै ३० हजारभन्दा बढी मिटरब्याजपीडित भएको मिटरब्याजपीडित संघर्ष समितिले जनाएको छ । प्रदेशका सबै जिल्लाबाट भेला भएर महोत्तरीको बर्दिबासमा पीडितहरूले विरोध कार्यक्रमसमेत गरेका छन् ।

एउटै जिल्लामा ४ हजारभन्दा बढी पीडितको तथ्यांक संकलन भइसकेको विरोध कार्यक्रमका अगुवा सर्लाहीका रवीन्द्र कुशवाहले जानकारी दिए । मधेसमा गरिबी र अशिक्षाले मिटरब्याजको समस्या बढी भएको उनले बताए । राज्यले तत्कालीन र दीर्घकालीन रूपमा समस्या समाधानका लागि आवश्यक पहल गर्नपर्ने पीडितहरूको माग छ ।

प्रकाशित : भाद्र ३०, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?