कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराउँदै हाते रिक्सा

ई–रिक्सा र अटो रिक्साको प्रयोग बढेपछि मानव श्रमबाट चल्ने रिक्साको प्रयोग घट्दो 
शंकर आचार्य

पर्सा — वीरगन्जमा रिक्सा ग्यारेज चलाउँदै आएका ७० वर्षीय कमल श्रेष्ठको ग्यारेजमा कुनै बेला सयवटा रिक्सा हुन्थे । ३ दशकदेखि व्यवसाय गर्दै आएका उनको अहिले ३५ वटा मात्र रिक्सा छन् । ई–रिक्सा र अटो रिक्साको प्रयोग बढेपछि रिक्साको प्रयोग घट्दो छ ।

हराउँदै हाते रिक्सा

‘जमाना बदलियो । अहिले मानव श्रमले चलाउनेभन्दा पेट्रोल र बिजुलीले चल्ने रिक्साको प्रयोग बढेको छ,’ उनी भन्छन्, ‘हाम्रो व्यवसायको दायरा पनि साँघुरिँदै गएको छ, यस्तै हालत रहे ५ वर्षभित्र वीरगन्जमा मानव श्रमले चल्ने रिक्सा बन्द हुन्छन् ।’

विगतमा वीरगन्जको सडकमा झन्डै ५ हजार यस्ता रिक्सा गुड्थे । रिक्सा ग्यारेज पनि डेढ दर्जन हाराहारीमा थिए । अहिले करिब १ हजार रिक्सा चल्छन् । ग्यारेजको संख्या पनि घटेर आधा दर्जनमा सीमित भएको श्रेष्ठ बताउँछन् । रिक्सा चालकहरू बढीजसो भारतको सीतामढी क्षेत्र र छिमेकी बारा, रौतहट र सर्लाही जिल्लाका हुने गरेका छन् । उनीहरूलाई ग्यारेजबाट बिनाधरौटी दैनिक रूपमा रिक्सा चलाउन दिइन्छ ।

‘दिनभर रिक्सा चलाएर कमाइ गरेपछि चालकहरूले केही रकम भाडाबापत दिन्छन्, पुरानो रिक्साको १ सय २० र नयाँको १ सय ५० रुपैयाँ भाडा छ,’ उनले भने, ‘रिक्साको मर्मत निःशुल्क गर्छौं, रिक्सा चालकलाई सुत्ने कोठा, शौचालय, खानेपानी आदि आधारभूत आवश्यकताको पनि ग्यारेजमै निःशुल्क सुविधा छ ।’ अधिकांश रिक्सा चालक ग्यारेजमा आफैं खाना पकाएर खान्छन् ।

वीरगन्जको पान मन्डीमा रहेको हन्स रिक्सा ग्यारेजका सञ्चालक बुद्धिमान उदासको पनि यस्तै अनुभव छ । दशक अघिसम्म उनको ग्यारेजमा ६० वटासम्म रिक्सा थिए । अहिले आधाले घटेको छ । ‘पहिले जस्तो रिक्साको माग छैन,’ उनले भने, ‘चालक पनि घट्दै गएका छन् ।’ हाल नयाँ रिक्साको मूल्य ३५ हजार रुपैयाँ पर्ने तर पुरानो रिक्सालाई नियमित मर्मतसम्भार र रंगरोगन गरिरहे २५ देखि ३५ वर्षसम्म काम गर्ने उदास बताउँछन् ।

सर्लाही चन्द्रनगर गाउँपालिका–१ किसनपुरका ३३ वर्षीय विजय पासवान ५ वर्षदेखि वीरगन्जमा रिक्सा चलाउँदै छन् । विगतको भन्दा कमाइ घटेको उनले सुनाए । ‘पहिले मासिक १५ देखि २० हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो,’ उनले भने, ‘अहिले मुस्किलले १० देखि १२ हजार रुपैयाँ छ ।’ विजयका बुबा ६१ वर्षीय उपेन्द्र पासवानले पनि वीरगन्जको सडकमा रिक्सा चलाउन थालेको ३ दशक भयो । उनी पनि विगतको जस्तो आकर्षक कमाइ नरहेको बताउँछन् । ‘पहिले जस्तो कमाइ अब यो पेसामा रहेन,’ उनी भन्छन्, ‘यात्रुहरू ई–रिक्सा र अटो रिक्सा चढ्न रुचाउँछन् । कम भाडामा छिटो गन्तव्यमा पुर्‍याउने भएकाले परम्परागत रिक्सालाई कमै प्रयोग गर्छन् ।’

१६ वर्षदेखि वीरगन्जको सडकमा एक हातको भरले रिक्सा चलाउँदै आएका रौतहट मत्सरी दुर्गा भवानी–३ का ५१ वर्षीय हेमन्तकुमार झाको अनुभव पनि यस्तै छ ।

‘पहिले जस्तो कमाइ यो पेसामा छैन,’ उनले भने, ‘कहिलेकाहीँ साहुलाई भाडा तिर्न पनि धौधौ हुन्छ ।’ चार दशकदेखि वीरगन्जमा रिक्सा चलाउँदै आएका रौतहट देवाही गोन्हाई नगरपालिकाका ७१ वर्षीय रिक्सा चालक राघव साहको निराशा बढ्दो छ । ‘अब त शरीर पनि कमजोर हुँदै गएको छ, कमाइ भने घट्दो छ,’ उनले भने, ‘शरीरमा तागत रहुन्जेल रिक्सा चलाउँछु, भोलि जे होला, देखा जाला ।’

प्रकाशित : भाद्र २६, २०७९ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?