कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कुलबाट घर फर्किँदै गरेका तीन बालिका बेपत्ता

श्यामसुन्दर शशि

जनकपुर — महोत्तरीको पिपरा गाउँपालिका २ र ७ का ७ देखि १० वर्षका तीन जना बालिका बुधबार बिहान ११ बजेदेखि सम्पर्कविहीन छन् । विद्यालय सकेर घर फर्किँदै गरेका बालिका बाटोबाटै बेपत्ता भएका हुन् ।

पिपराका स्थानीयवासीहरूका अनुसार पिपरा गाउँपालिका २ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना चौधरी र पिपरा ७ बनौलीका दीपेन्द्र झाका दुई छोरीहरू ७ वर्षीया प्रज्ञा कुमारी र १० वर्षीया प्रियांशी कुमारी बेपत्ता भएका हुन् ।

७ देखि १० वर्ष उमेर समूहका तीन बालिका बेपत्ता भएपछि गाउँलेहरू उनीहरूको खोजीमा निस्किएका छन् ।स्थानीयवासीहरुका अनुसार तीनै बालिका गाउँमै रहेको देवसिद्धी इङलिस बोर्डिङ स्कुलमा पढ्छन् । प्रियांशीका पिता दीपेन्द्र झाले बालिकाको खोजी गर्दा नभेटेपछि पिपरा प्रहरी चौकीमा निवेदन दिएका छन्।

पिपरा प्रहरी चौकीका इन्चार्ज सन्तोष झाका अनुसार स्थानीयवासीहरुले तीनै जना बालिकालाई साढे ११ बजेतिर जनकपुर–जलेश्वर सडक खण्डमा पर्ने चांदनी चौकमा देखेका थिए । स्कुलभन्दा १ किलोमिटर दक्षिणमा पर्ने घर जानु पर्नेमा ती बालिकाहरु चांदनी चौकमा किन पुगे भन्ने अनुसन्धानको विषय बनेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीका इन्चार्ज नायव प्रहरी निरीक्षक सन्तोष झाले बालिकाहरूको खोजी गरिएको बताएका छन् ।

प्रकाशित : भाद्र २२, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?