कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनलाई धमाधम नाम सिफारिस

शिव पुरी

रौतहट — आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरू यतिखेर उम्मेदवारको नाम सिफारिसमा व्यस्त छन् । प्रत्यक्ष र समानुपातिकका लागि पार्टीका क्षेत्रीय कमिटीले उम्मेदवार चयन गर्न थालेका हुन् ।

निर्वाचनलाई धमाधम नाम सिफारिस

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटको १ र ४ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । समाजवादीको क्षेत्रीय समितिको बैठकले अध्यक्ष नेपाललाई सिफारिस गरेको हो । दुवै क्षेत्रमा कांग्रेसले मधेस प्रदेश सभापति कृष्ण यादवको नाम सिफारिस गरेको छ । गठबन्धनमा सहज होस् भनेर यादवलाई प्रदेशसभामा पनि सिफारिस गरिएको हो । गठबन्धन भए यादव प्रदेशसभा र नेपाल प्रतिनिधिसभामा चुनाव लड्ने कांग्रेसका मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश गुप्ताले बताए ।

रौतहट क्षेत्र नम्बर २ बाट कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको एकल नाम सिफारिस भएको छ । कांग्रेसको २ नम्बर क्षेत्रीय कार्यसमितिको बैठकले आलमको नाम सर्वसम्मतबाट सिफारिस गरेको क्षेत्रीय सभापति शेख फैजुल्लाहले बताए । ‘क्षेत्रीय कमिटीको बैठकमा आलमको एकल नाम आएकाले सिफारिसको निर्णय भएको हो,’ उनले भने, ‘कसैले विरोध, प्रतिवाद गरेनन् । सर्वसम्मतबाट सिफारिस गर्न अनुरोध गरे ।’ आलम अहिले पुर्पक्षका लागि काठमाडौंस्थित नख्खु कारागारमा छन् । आलममाथि २०६४ मा पहिलो संविधानसभा चुनावताका विस्फोटक पदार्थ बनाउने क्रममा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

नेकपा एमालेका नेता प्रभु साह क्षेत्र नम्बर ३ बाट सिफारिस भएका छन् । साहको पकड रहेको यो क्षेत्रमा उनी अहिलेसम्म पराजित भएका छैनन् । यो क्षेत्रमा जसपाका तर्फबाट पूर्वमन्त्री गोविन्द चौधरीको नाम सिफारिस भएको छ । कांग्रेसले ३ नम्बर क्षेत्रमा जिल्ला सभापति सुनीलकुमार यादवको नाम सिफारिस गरेको छ । यसअघि उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । क्षेत्र नम्बर ४ मा कांग्रेसले हालका सांसद देवप्रसाद तिमिल्सिनालाई नै सिफारिस गरेको छ । यो क्षेत्रमा नेकपा एसले रामकुमार भट्टराई र एमालेले उद्धव रेग्मीको नाम सिफारिस गरेका छन् । माओवादीले अहिलेसम्म उम्मेदवारको नाम सिफारिस गरेको छैन ।

प्रकाशित : भाद्र २२, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?