कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भन्सारमा छैन चाडपर्वको रौनक

पर्सा — दशैं, तिहार, छठ जस्ता ठूला चाडपर्व नजिकिए पनि वीरगन्जका दुइटै भन्सारमा चहलपहल छैन । अघिल्ला वर्षहरूभन्दा यस पटक चाडपर्वसँग सम्बन्धित वस्तु आयात घटेको हो ।

सरकारले यस बर्ष एलसी खोल्नमा कडाइ र केही वस्तुको आयातमा पूर्णबन्देज लगाएपछि असर देखिएको छ ।

अघिल्ला वर्षमा यी चाडपर्व नजिकिएसँगै लत्ताकपडा, दीपावलीको बत्ती, मदिरा, तास, जुत्ता र ड्राइफुड्सलगायत वस्तुको आयात हुँदा वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा चहलपहल बढ्ने गर्थ्यो । वीरगन्ज भन्सारका सूचना अधिकृत आशुतोष राईले यसबर्ष अघिल्ला बर्षजस्तो चाडपर्वलक्षित बस्तुको आयात नभएको बताए । ‘मदिरा, तासको आयातमा सरकारले नै रोक लगायो,’ उनले भने, ‘लत्ताकपडा, मसलाको आयात पनि अघिल्ला बर्षमा जस्तो हुनसकेको छैन ।’ गतबर्षको कोरोनाकालको भन्दा पनि यसबर्षको अवस्था नाजुक भएको उनको भनाइ छ । ‘देशभरि मुख्य भन्सार नाकाको यस्तै अवस्था छ,’ उनले भने ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले अघिल्ला बर्षजस्तो यसबर्ष चाडपर्वलक्षित वस्तुको आयात नभएको बताए । सरकारले मदिरा, तास र खेलौनाजस्ता यो नाकाबाट बढी आयात हुने बस्तुको आयातमा रोक लगाएपछि त्यसको प्रभाव देखिएको उनको भनाइ छ । ‘हाल तास र खेलौनाको आयातमा प्रतिबन्ध हटाइएको छ, मदिराको कायमै छ,’ उनले भने, ‘प्रतिबन्ध हटाइएका वस्तुको एलसी तत्कालै खुले पनि आइपुग्न करिब २ महिना लाग्छ ।’

समुद्री मार्गबाट भारतको कोलकाता, हल्दिया तथा बिशाखापटनम बन्दरगाहसम्म आउने मालबाहक कन्टेनर त्यहाँबाट रेलमा ढुवानी गरेर सुक्खा बन्दरगाहसम्म ल्याइन्छ । रेलबाट मालबस्तु ढुवानी सस्तो र भरपर्दो मानिन्छ । चालु आर्थिक बर्षको पहिलो अर्थात् साउन महिनामा दुवै भन्सारले लक्षित राजस्व असुली गर्न सकेनन् ।

प्रकाशित : भाद्र २०, २०७९ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?