कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपेन्द्र यादवको आरोप- 'काठमाडौं बसेर हुकुमत चलाउनेहरू व्यवस्था उल्टाउने षड्यन्त्र गर्दैछन्'

अवधेशकुमार झा

राजविराज — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले काठमाडौंमा बसेर हुकुमत चलाउनेहरूले अहिलेको व्यवस्थालाई उल्टाउन खोजेको आरोप लगाएका छन् । उनले नेपाली कांग्रेसको ठूलो हिस्सा र एमालेले गणतन्त्र, संघीयता, समावेशिता समाप्त गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

उपेन्द्र यादवको आरोप- 'काठमाडौं बसेर हुकुमत चलाउनेहरू व्यवस्था उल्टाउने षड्यन्त्र गर्दैछन्'

सप्तरीको महदेवा गाउँपालिकास्थित बलिया मठमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले प्रदेश र जनतामा अधिकार आउने क्रम सुरु भएपछि संघीयता र गणतन्त्र समाप्त पार्ने खेल सुरु भएको बताए । नागरिकता विधेयक फिर्ता गरेर नागरिकलाई अनागरिक बनाउन खोजिएको उनको आरोप छ ।

‘नागरिकता विधेयक फिर्ता भयो, अब पुन: प्रमाणीकरणमा जान्छ,’ अध्यक्ष यादवले भने,‘अब फिर्ता हुँदैन, जसपा नेपाल गलामा गम्छा लगाएर भए पनि जनताको अधिकार सुनिश्चतताका लागि तत्पर छ ।’

नेपाल बहुभाषिक देश भए पनि एक भाषलाई सरकारी कामकाजको भाष बनाएर अन्य भाषको अपमान गरिरहेको उनको आरोप थियो । सरकारी जागिरमा मधेशी र आदीवासी जनजातिलाई कोटामा मात्र सीमित गर्न खोजिएको आरोप लगाउँदै उनले कर्मचारीतन्त्र आफ्नो नभएसम्म प्रदेश सरकारले गति लिन नसक्ने बताए । प्रहरी समायोजनमा ढिलाइ गरेर शासक वर्गको नियतमै खोट रहेको प्रष्ट भएको पनि उनले बताए ।

शसकवर्गको गलत नीति र पूर्वाग्रही सोचका कारण नेपाल संसारकै पिछडिएको देशमा पुगेको पनि उनको आरोप थियो । यस्तै

उनले अधिकार र विकासलाई सँगसँगै जोड्नुपर्ने भन्दै सामाजिक परिवर्तनमा पनि जोड दिएका थिए । ‘राजनीतिक परिवर्तनहरू भए, राजतन्त्रबाट गणतन्त्र भयो । तर सामाजिक परिवर्तन बिना राजनीतिक परिवर्तन अपुरो हुन्छ,’ नेता यादवले भने ।

पर्टी प्रवेश कार्यक्रममा बिहीबार महदेवा गाउँपालिकाका निवर्तमान अध्यक्ष दिपककुमार यादवसहितका नेताहरू जसपा नेपालमा प्रवेश गरेका थिए । जसपाबाटै ०७४ को निर्वाचनमा महदेवा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका दिपक गत वैशाख २० गतेको स्थानीय तहको निर्वाचनमा जसपाले टिकट नदिएपछि कांग्रेस प्रवेश गरी अध्यक्ष पदको उम्मेदवार भएका थिए । उनी हाल पुन: जसपामै फर्किएका हुन् । कर्यक्रममा जसपाका प्रवक्ता मनिषकुमार सुमन, प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह लगायत नेताहरूले बोलेका थिए ।

प्रकाशित : भाद्र १७, २०७९ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?