२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५३

झूटो विवरण पेस गरी नागरिकता, छानबिनमा ढिलाइ

नक्कली बाबुआमा र नागरिकता लिने तीनै जना फरार, खोजी भइरहेको प्रहरीको भनाइ
झूटो विवरणको आधारमा नागरिकता लिई सरकारी जागिर खाइरहेको भन्दै उजुरी
लक्ष्मी साह

बारा — झूटो विवरण पेस गरी जन्मदर्ता र सिफारिस लिएर वंशजको आधारमा नागरिकता लिएको भन्दै भारत पश्चिम बंगाल दार्जिलिङकी २१ वर्षीया रजनी गोलेविरुद्ध निजगढ नगरपालिका–१२ का अध्यक्ष ज्ञानबहादुर गोलेले उजुरी दिएको एक महिना नाघिसक्यो ।

झूटो विवरण पेस गरी नागरिकता, छानबिनमा ढिलाइ

आफैंले गरेको सिफारिस गलत पर्न गएकोले रजनीको नागरिकता बदरसहित छानबिन गर्न उनले इलाका प्रशासन कार्यालयमा निवेदन दिएका थिए । इलाकाले उक्त फाइल जिल्ला प्रशासनमा हस्तान्तरण गरिसकेको जनाएको छ । तर, यसबारे अझै छानबिन भएको छैन ।

रजनीले झुक्याएर गलत सिफारिस गराएको भन्दै वडाध्यक्षसहित स्थानीयले इलाका प्रशासनमा पुगेर संलग्नलाई कारबाही हुनुपर्ने भन्दै निवेदन दर्ता र धर्ना नै दिएका थिए । रजनीले श्यामराज गोले र जीरामाया गोलेकी छोरी बनेर गत असार १ मा ३३–२–७९–००५१३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएकी थिइन् ।

इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले वडाध्यक्ष गोलेले छानबिन गर्न निवेदन दिएपछि रजनीेसहित नक्कली बाबुआमा बनेकालाई उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिए पनि अन्य कारबाही अघि बढ्न नसकेको स्विकारे । गाउँमा कीर्ते गरी नागरिकता लिएको हल्ला चलेपछि श्याम, जिरामाया र रजनी फरार छन् । उनी भारतमा विवाहित भए पनि यहाँबाट अविवाहित बनेर नागरिकता लिएकी छन् । रजनीले वडाध्यक्षलाई सिफारिस गराउन वडा कार्यालय आफैं नगई जीरामायालाई पठाएकी थिइन् । उनले जेठ २३ मा जन्मदर्ताको प्रमाणपत्र लिएकी र भोलिपल्ट नगरिकताको सिफारिस लिएकी थिइन् ।

‘छानबिनको लागि गत साउन ८ मा निवेदन र धर्ना दिएका थियौं तर छानबिन प्रक्रिया अघि बढेको छैन,’ स्थानीय रमण घिमिरेले भने, ‘मिलेमतोमा दिइएको नागरिकता बदर हुनुपर्छ । मुचुल्का गर्ने प्रहरीदेखि स्थानीय, जनप्रतिनिधि र नक्कली बाबुआमा बन्ने सबै संलग्न छन् ।’ दोषीहरूलाई कानुनी दायरामा नल्याएर जोगाउने प्रयास भइरहेको उनको आरोप छ । सिफारिस गर्ने वडाध्यक्ष ज्ञानबहादुरसहित वडा सचिव शुभचन्द्र महतो र नक्कली आमाबुबा बन्ने जीरामाया र श्यामराजमाथि छानबिन गरी कारबाही हुनुपर्ने उनको माग छ ।

यसैगरी, सिम्रौनगढ नगरपालिका–७ का राकेश कुमारले झूटो विवरणको आधारमा नागरिकता लिई सरकारी जागिर खाइरहेको भन्दै नागेन्द्रप्रसाद महतोले गत असार ८ मा उनको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासनमा निवेदन दिएका थिए । तर, उनको निवेदनमा पनि कार्यालयको मुद्दा फाँटले तोक लगाएर उपस्थित गराउन प्रहरीलाई पत्र लेख्नेबाहेक अरू केही गर्न सकेको छैन । पटक–पटक प्रशासनमा पुगे पनि छानबिनमा चासो नदिएर आफूलाई अलमल्याउने काम मात्र गरिएको महतोको आरोप छ ।

राकेशले २०६८ वैशाख २७ मा जिल्ला प्रशासनबाट नागरिकता लिएका थिए । उनको स्थायी घर भने भारत मोतिहारी जिल्लाको खडतरी गाउँमा हो । उनका बाबुआमा र उनले समेत दोहोरो नागरिकता लिएको दाबी गर्दै महतोले निवेदन दिएका थिए । ‘धेरैपटक प्रशासनमा पुगिसकियो, तर छानबिन गरेकै छैनन्,’ महतोले भने ।

झुटो विवरण पेश गरी नागरिकता लिएको भन्दै प्रशासनमा धेरै उजुरी दर्ता भए पनि छानबिनलाई तीव्रता दिइएको पाइँदैन । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने दुवै नागरिकतामाथि अख्तियार र प्रशासन कार्यालयबाट छानबिन भइरहेको बताए । ‘निवेदन र फाइल अध्ययन गरिरहेका छौं,’ उनले भने ।

इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस विषयमा चासो राखेर कार्यालयबाट जवाफ मागेको पुष्टि गरे । ‘वडाध्यक्ष गोलेको लिखित र मौखिक निवेदनको आधारमा इलाका प्रशासन कार्यालयले रजनीसहित उनले बाबुआमा बनाएका र सनाखतमा बस्नेदेखि मुचुल्कामा समेत बस्नेहरूलाई उपस्थित गराउन प्रहरीलाई पत्राचार गरिएको छ तर हालसम्म उपस्थित गराइसकेको छैन,’ उनले भने ।

प्रहरीले भने उनीहरूको खोजी भइरहेको बतायो । ‘आरोपित सबैको खोजी गरिरहेका छौं,’ निजगढका प्रहरी निरीक्षक सञ्जीव ओलीले भने, ‘फेला परेपछि प्रशासनमा उपस्थित गराउँछौं ।’

प्रकाशित : भाद्र १३, २०७९ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?