कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मीलाई नियमविपरीत भत्ता

शिव पुरी

रौतहट — सरकारी अस्पतालका कर्मचारीले नियमविपरीत अतिरिक्त भत्ता बुझेको खुलेको छ । नियमविपरीत भत्ता बुझेको महालेखा परीक्षकले फेला पारेर फिर्ता गर्न निर्देशन दिएको छ । अतिरिक्त भत्ता लिएका अधिकांश स्वास्थ्यकर्मीले कोभिड–१९ को जोखिम भत्ता बुझिसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्यकर्मीलाई नियमविपरीत भत्ता

चन्द्रपुर अस्पतालमा कार्यरत १९ चिकित्सकलगायतका स्वास्थ्यकर्मीले बढी ड्युटी खटेको भन्दै ३६ लाख ४५ हजार ८ सय ८३ रुपैयाँ अतिरिक्त भत्ता बझेका हुन् । भत्ता बुझेकामध्ये चिकित्सक जहुर राइन, देवशंकर पासवान र धर्मेन्द्र पटेलको करार म्याद सकिएको छ । उनीहरूले बुझेको अतिरिक्त भत्तासमेत फिर्ता गर्न महालेखाले निर्देशन दिएको छ ।

अतिरिक्त भत्ता बुझ्ने स्वास्थ्य कर्मचारीले दैनिक बिहान, दिउँसो, साँझ र रातिलाई ३ सिफ्ट अतिरिक्त समय काम गरेको भनी सिफ्टलाई दिनमा परिणत गरेर रकम बुझेका हुन् । १ दिन बराबरको तलब भुक्तानी गर्न मिल्ने आधार तथा जनशक्ति कम भई अतिरिक्त समय काममा खटाएको प्रमाण र कार्यमूल्याकन, विद्युतीय हाजिर पेस नभएको महालेखाले फेला पारेको छ ।

महालेखाले भनेको छ, ‘सिफ्टमा काम गर्ने चिकित्सकलगायतका स्वास्थ्यकर्मीले कोभिड–१९ को जोखिम भत्ता ७५ दिनको ५० प्रतिशत बुझिसकेकाले अतिरिक्त समय भुक्तानी दिन नमिल्ने हुनाले असुल गर्नुहोला ।’ सरकारी अस्पतालमा कार्यरत रहँदा चिकित्सक जहुर राइन चन्द्रनिगाहपुर हस्पिटल प्रालि (निजी) मा समेत कार्यरत थिए । अस्पताल प्रमुख सुपरिन्टेन्डेन्ट डा.सन्दीपकुमार साहले ४ सय ६ सिफ्टको कागज बनाई ५ लाख १ हजार ३ सय १३ रुपैयाँ अतिरिक्त भत्ता बुझेको पाइएको छ । चिकित्सक जहुरले ड्युटी खटेको बाहेक अन्य रकम भुक्तानी नलिएको दाबी गरे । ‘मैले ३ सिफ्ट काम गरेको हुनाले सोहीअनुसार रकम लिएको हुँ,’ उनले भने, ‘यसबारे थप अस्पताल प्रमुखसित बुझ्नुहोला ।’

महालेखाले ससर्त बजेटतर्फ अतिरिक्त भुक्तानी बजेट व्यवस्था नभएको अवस्थामा नगरपालिकाले ससर्त तलब भत्ताबाट खर्च लेखी तलब खुवाएकाले रकम असुल गर्नुपर्ने भनेको छ । नगरप्रमुख सञ्जय काफ्लेले स्वास्थ्यका कर्मचारीले अतिरिक्त रकम बुझेको महालेखाले बेरुजु देखाएकाले असुल्नेतिर प्रक्रिया अघि बढाउने बताए । ‘अतिरिक्त रकम बुझ्ने कर्मचारीलाई पत्राचार गर्छौं । रकम फर्छ्योट गर्न भन्छौं,’ उनले भने, ‘रकम तिरेनन् भने तलब भुक्तानीको बेला बेरुजु रकम काटेर मात्र कर्मचारीको खातामा पठाउँछौं ।’

ड्युटीमा खट्दै नखटी सिफ्ट देखाएर कर्मचारीले अस्पतालबाट भत्ता बुझेपछि महालेखाले असुल्न भनेको हो । अस्पताल प्रमुख डा.सन्दीप साहले कर्मचारीको कमी भएको अवस्थामा बढी समय खटेकै कारण भत्ता बुझेको बताए । ‘कर्मचारी अपुग भएका बेला अन्य कर्मचारीले बढी खट्नुपर्छ । त्यसैले नियमानुसार भत्ता बुझेका हौं,’ उनले भने, ‘यसमा केही तलमाथि हुन सक्छ । तर नियम मिचेर भत्ता लिएका छैनौं ।’

प्रकाशित : श्रावण २७, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?