कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रद्द ठेक्कामा काम गर्दै पप्पु

सम्झौताअनुसार काम नगरेको, लिखित, मौखिक ताकेता गर्दा बेवास्ता गरेको भन्दै ठेक्का रद्द 
शिव पुरी

रौतहट — डिभिजन सडक कार्यालयले पुलको ठेक्का रद्द गरे पनि ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले काम चालु राखेको छ । डिभिजनको निर्देशन लत्याउँदै पप्पुले जबर्जस्ती रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा पुल निर्माण गरिरहेको हो ।

रद्द ठेक्कामा काम गर्दै पप्पु

तीन वर्षभित्र पुल निर्माण पूरा गर्न ०७१ असार २९ मा सम्झौता गरेको पप्पुले बीचैमा (०७३ साल) काम छाडेको थियो । काम अलपत्र पारेपछि सडक डिभिजन र पप्पुबीच द्वन्द्व बढ्न थाल्यो । निर्माण सक्न सडकले पटक/पटक पत्राचार गरे पनि काम हुन सकेन । ठेकेदारले सम्झौताअनुसार काम नगरेको, लिखित, मौखिक ताकेता गर्दा बेवास्ता गरेको भन्दै गत जेठ १० गते ठेक्का रद्द गरिएको छ । तर, ठेकेदारले काम बन्द गरेको छैन ।

तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाख रुपैयाँको पुल निर्माणका लागि ठेक्का आह्वान भएको थियो । पप्पुले १४ करोड ९३ लाखमा टेन्डर सकार गरेको थियो । गौर औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउनुपर्ने जिम्मा थियो । ठेक्काको सम्झौता ०७४ असार २५ मा सकिएको थियो । त्यसपछि म्याद थप भएको छैन । ठेक्का रद्दको सूचनापछि पप्पु उच्च अदालत पुग्यो । अदालतले उक्त ठेक्का यथास्थितिमा राख्न आदेश गरेको छ । तर निर्माणको काम गर्नु भनेर आदेश नगरेकाले उसले काम गर्न नपाउने सडकको जिकिर छ । पप्पुले आफ्नो प्राविधिक जमुना यादवलाई साइटमा खटाएर निर्माण धमाधम गरिरहेको छ । डिभिजन प्रमुख दरोगाप्रसाद साहले ठेक्का नै रद्द गरिसकेपछि काम गर्नुको औचित्य नरहेको बताए । ‘ठेकेदारले बल मिच्याइँ गर्छ भने हामीलाई भन्नु केही छैन,’ उनले भने, ‘अदालतको आदेश पर्खेका छौं । हामीले काम गर्न भनेका होइनौं । ठेक्का रद्द भइसकेको छ ।’ उच्च अदालत वीरगन्जमा सडक कार्यालयले प्रतिउत्तर दिइसकेकाले आदेश पर्खेको जनाएको छ । अदालतले आदेशमा ठेक्का तोड्ने प्रक्रिया रोक्न भनेकाले काम पनि रोक्न नमिल्ने ठेकेदार कम्पनीको दाबी छ ।

ठेकेदार कम्पनीका इन्जिनियर यादवले अहिलेसम्म पुलको ७८ प्रतिशत काम सकिएको दाबी गरे । ६ वटा स्पानसहितको पुलका चार स्पान बनिसकेको उनले जनाए । ‘हामीले निर्माणको कामलाई निरन्तरता दिएका छौं । सडक कार्यालयको एक जना पनि प्राविधिकहरू आएका छैनन्,’ उनले भने, ‘अब चाँडै काम सक्छौं ।’ टिकुलिया घाटमा पुल नबन्दा वर्षाका बेला स्थानीयले सास्ती भोग्दै आएका छन् । ०७५ भदौ ९ मा टिकुलियामा डुंगा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । उक्त डुंगामा सवार २४ जनाले पौडिएर ज्यान जोगाएका थिए ।

यस्तै, चन्द्रपुर–३ स्थित गैंडाटारमा निर्माणाधीन पुलको अवस्था पनि उस्तै छ । उक्त पुल पप्पु कन्स्ट्रक्सन र शिवशंकरको जेभीले निर्माणको जिम्मा लिएका हुन् । कछुवा गतिमा काम गरिरहेको छ । पुलको काम समयमा नसकेपछि वर्षाको बेला आवतजावतमा कठिनाइ हुन थालेको छ । पप्पु र शिवशंकरले २०७४ असार ३१ मा ठेक्का सम्झौता हुँदा २०७६ असार ३१ काम सक्ने जनाइएका थिए । हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ । ठेकेदार कम्पनीले २५ करोड ३६ लाखमा ठेक्का सकारेको हो । पहिलो पटक डेढ वर्ष र दोस्रो पटक ६ महिना म्याद थपिएको थियो । जसअनुसार २०७८ असार १३ सम्म काम सक्नुपर्नेमा हालसम्म निर्माणकै क्रममा छ ।

प्रकाशित : श्रावण २३, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?