कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक बनाउन व्यवसायीको माग

कान्तिपुर संवाददाता

सर्लाही — सर्लाहीको फूलजोर–त्रिभुवननगर जोड्ने सडक लामो समयदेखि कालोपत्र नगरी अलपत्र छाडिएको विरोधमा बयलबासका व्यवसायी आन्दोलनमा उत्रेका छन् । तत्काल सडक बनाउन माग गर्दै उनीहरूले केही दिनयता बजार बन्द गराएका थिए ।

व्यवसायीले प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै शनिबारदेखि बजार खोलेका छन् । एक साताभित्र निकास निकाल्न माग गर्दै व्यवसायीले ज्ञापनपत्र बुझाएका हुन् । त्यस अवधिमा प्रशासनले कुनै कदम नचाले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने व्यवसायीको भनाइ छ । उद्योग वाणिज्य संघ ईश्वरपुरको अगुवाइमा व्यवसायी आन्दोलित भएका हुन् । फूलजोर–त्रिभुवननगर सडक फराकिलो बनाए पनि ठेकेदारले विभिन्न बहाना गरी कालोपत्र गरेको छैन । कालोपत्र नहुँदा हिलाम्मे सडकले आवतजावत तथा व्यापार गर्न कठिनाइ भइरहेको व्यापारीहरूको गुनासो छ ।

सडक फराकिलो बनाउन घरहरू भत्काउँदा करोडौंको क्षति नागरिक तथा व्यापारीले भोगे पनि लामो समयसम्म कालोपत्र नगरेपछि आफूहरूले आन्दोलन थालेको उद्योग वाणिज्य संघ ईश्वरपुरका अध्यक्ष मनोज साहले बताए । सडक नबन्दा यसको असर व्यापारमा परिरहेको उनको भनाइ छ । पालिका तथा अन्य निकायलाई सडक निर्माणका लागि घच्घच्याउँदासमेत नबनेपछि बाध्य भएर व्यापार व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।

हुलाकी सडकअन्तर्गतको यो सडक २०७४/७५ सालमा सन्तोषी निर्माण सेवाले ठेक्का सकारेको हो । चार वर्षमा सडकको काम सक्ने भनेर ठेक्का लिएको कम्पनीले पछिल्लो समय विभिन्न बहानामा म्याद गुजार्ने काम मात्र गरेको स्थानीय बताउँछन् । चैतमा ठेकेदारले बजार क्षेत्रमा सडकको काम गर्न खोज्दा स्थानीय दुई पक्षबीच झडप भएको थियो, जसमा संघीय सांसद प्रमोद साह घाइते भएका थिए । बयलबास बजारस्थित सडक छेउमा रहेको फूलजोरबाबा युवा क्लबको भवन निर्माण र सडकमा नाला बनाउने विषयमा विवाद भएको थियो ।

प्रकाशित : श्रावण २२, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?