कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पानीको बहाव बढ्नेक्रम नरोकिएपछि कोसी ब्यारेजका ३२ ढोका खुला 

अवधेश झा

राजविराज — सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ३२ ढोका खुला गरिएको छ । शनिबार दिउँसो ३ बजेको मापनअनुसार पानीको बहाव २ लाख २३ हजार ७७५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । मध्याह्न १२ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख २ हजार ४ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको थियो । 

पानीको बहाव बढ्नेक्रम नरोकिएपछि कोसी ब्यारेजका ३२ ढोका खुला 

पानीको बहाव बढेसँगै ५६ मध्ये ३२ ढोका खुला गरिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए । शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोकामात्रै खोलिएको थियो ।

पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाव अस्वभाविकरुपमा बढ्ने अनुमान गरिएको हो । कोसी नदीमा पानीको अत्यधिक बहाव हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । उनका अनुसार तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत आग्रह गरिएको छ ।

कोसीमा अत्यधिक बहाव हुनसक्ने भएपछि सुनसरीमा पनि उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । यस्तै बस्तीतर्फ कोसी प्रवेश गरेकोले उदयपुरमा पनि उच्च सतर्कता अपनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।

प्रकाशित : श्रावण २१, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?