कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रोकिएन अवैध रकम ओसारपसार

रौतहट — रौतहटको ईशनाथ नगरपालिका–६ चमनाबाट केही दिनअघि स्रोत नखुलेको रकम बरामद भयो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका भारतको मुम्बई सेन्ट्रल महाराष्ट्र बस्ने २६ वर्षीय मोहम्मद कमरे आलम पक्राउ परेका थिए ।

रोकिएन अवैध रकम ओसारपसार

सीमामा खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनको साथबाट १० लाख रुपैयाँ र १२ हजार भारु फेला पारेको थियो । उनले प्याज राखेको बोरामा लुकाई रकम ल्याएका थिए । तर, कसको रकम ल्याएको भन्ने हालसम्म प्रहरीलाई बताएका छैनन् ।

सीमामा स्रोत नखुलेको रकम ओसारपसारको यो एउटा उदाहरण मात्र हो । पछिल्लो समय यसरी अवैध रकम ओसारपसार झनै बढेको छ । सुरक्षाकर्मीले जतिसुकै कडाइ गरेको भनिए तापनि कारोबारी बढेका छन् । खुला सीमाका कारण कुनै न कुनै बाटो प्रयोग गरी नेपाल प्रवेश गर्छन् । उनीहरूले ल्याउने रकम कहाँबाट आइरहेको छ भन्नेबारे सुरक्षाकर्मीले पनि पत्ता लगाउन सकेका छैनन् ।

आलम पक्राउ परेको केही दिनअघि अर्का एक भारतीय पनि स्रोत नखुलेको रकमसहित पक्राउ परेका थिए । भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना महुवा गाउँका ४५ बर्षिय दिपनारायण प्रसाद श्रोत नखुलेको १५ लाख रकम सहित रौतहटको बौधीमाई नगरपालीका ९ सरमुजवामा पक्राउ परेका थिए । उनी बिहार ०५ वाई २९७८ नम्बरको मोटरसाईकल चढेर आउदै थिए ।

सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडामगरले पारिबाट आउने रकम कसको र कुन प्रयोजनका लागि ओसारपसार भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको बताए । ‘हामीले सीमाक्षेत्रमा कडा निगरानी बढाएका छौं,’ उनले भने, ‘खुला सीमा भएकाले कुनै न कुनै चोरबाटो भएर प्रवेश गरिहाल्छन् ।’ सीमापारिको समूहको पहिचान गर्न सके कारोबारी रोकिने उनको भनाइ छ । नेपाल–भारत सीमा बैठकमा पटक–पटक यस विषयमा कुरा उठ्दै आए पनि कारोबार रोकिएको छैन । स्रोत नखुलेको रकम ओसारपसार गर्ने अधिकाश भारतीय छन् ।

जिल्ला प्रहरी कार्यालय गौरका अनुसार गत आर्थिक वर्षमा भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ३२ लाख ६१ हजार रकम बरामद भएको छ । उक्त रकम ओसारपसार गर्ने ६ भारतीय र ४ नेपाली पक्राउ परेको जिल्ला प्रहरीका डीएसपी सुनील मल्लले बताए । यस्तै उक्त अवधिमा सशस्त्र प्रहरीले पनि १३ जनालाई पक्राउ गरेको थियो, जसमध्ये ९ जना भारतीय हुन् । हुन्डी र नक्कली नोटको कारोबार गर्ने गिरोहले यसरी रकम ओसारपसार गराउँदै आएको सुरक्षा निकायको अनुमान छ । रौतहटको सीमाक्षेत्र झन्डै ३७ किलोमिटर खुला छ ।

प्रकाशित : श्रावण ९, २०७९ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×