कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

चिनी मिल चलाउन पहल

शिव पुरी

रौतहट — बर्सेनि घाटा बेहोर्नुपरेको भन्दै दुई वर्षदेखि बन्द रहेको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल सञ्चालन गर्न पहल थालिएको छ । मिलको अवस्था बुझ्न संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोली दुई दिनअघि रौतहट आएर फर्केको छ । टोली आएपछि मिल सञ्चालन हुने आशा पलाएको भन्दै स्थानीय किसान खुसी छन् । मिल बन्द हुँदा दुई दशकदेखि उखु खेती गर्दै आएका किसान र मिलमा काम गर्ने मजदुर मारमा परेका थिए । 

चिनी मिल चलाउन पहल

श्रम समितिका सदस्य एवं पूर्वश्रम तथा रोजगारमन्त्री रामेश्वरराय यादवको संयोजकत्वमा सरिताकुमारी गिरी, उमाशंकर अरगरिया र समितिका सचिवलगायतका पदाधिकारी रौतहट आएका हुन् । समितिले स्थानीय किसान, कर्मचारी युनियन, मजदुर संघका पदाधिकारीलगायतलाई भेटेको छ । मिल बन्द हुनुको कारण, किसानका समस्याबारे छलफल भएको उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताए । ‘थोरै भए पनि मिल सञ्चालन हुने आशा पलाएको छ । हामी सहयोग गर्न तयार छौं,’ उनले भने । मिलका मेसिनरी सामान दिन प्रतिदिन खिया लाग्दै गएको छ ।

करोडौं घाटा बेहोर्नुपरेको र बाध्यात्मक परिस्थितिबाट व्यवस्थापन पक्षले ०७७ साउन १० देखि मिल बन्द गरेको हो । सञ्चालकले कर्मचारीहरूलाई न्यूनतम पारिश्रमिक दिनसमेत आर्थिक अभाव रहेको जनाएका थिए । मिलले अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ घाटा बेहोरेको जनाएको छ । संसदीय समितिका सदस्य यादवले छलफलपछि आफू उत्साहित भएको बताए । ‘किसानलगायत सबैको चाहना उद्योग सञ्चालन होस् भन्ने हो,’ उनल भने, ‘मिल बन्द भएको बारे सञ्चालकसँग छलफल गर्छौं । मिल सञ्चालन हुने वातावरण तयार पार्छौं ।’ २६ वर्षदेखि सञ्चालनमा रहेको चिनी मिल बन्द हुँदा सिजनल, रेगुलर र करार गरी ३२५ जना कर्मचारीको रोजगारी गुमेको थियो ।

मिल स्थापनाको केही वर्षसम्म मुनाफामा चलेको थियो । बारा, पर्सा, रौतहटका किसानको एक सिजनमा ३० लाख क्विन्टलसम्म उखु क्रसिङ गर्ने मिलको लक्ष्य थियो । तर पछिल्लो १० वर्षयता १५/२० लाख क्विन्टलभन्दा कम क्रसिङ गर्न थालेपछि घाटा सुरु भएको हो । २४ सैं घण्टा सञ्चालन हुनुपर्ने मिल विभिन्न कारणले बन्द

हुने पुगेको हो । मिल बन्द हुने वर्ष १३ दिन मात्र उखु क्रसिङ गरेको थियो । मिलले किसानलाई ०७१ सालदेखिको झन्डै ३५ करोडभन्दा बढी रकम भुक्तानी गरिसकेको छ । मिल स्थापना हुँदा जिल्लामा १२ हजार उखु किसान रहेकामा अहिले घटेर ५ हजार पुगेको संघले जनाएको छ । अहिले जिल्लामा बाबा वैद्यनाथ चिनी मिल सञ्चालनमा छ ।

प्रकाशित : असार २९, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×