कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कृत किशोरी मृत फेला

भरत जर्घामगर

सिरहा — सामूहिक बलात्कृतमा परेको भनिएकी सिरहा मल्हनियाकी एक किशोरी मृत अवस्थामा भेटिएकी छन् । सिरहाको मिर्चैया नगरपालिका–१ मल्हनीयाकी करिब १५ वर्षीया एक किशोरीको शव मंगलबार बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

बलात्कृत किशोरी मृत फेला

किशोरी मुसहरले गत सोमबार दुई युवकले आफूलाई फकाएर घर नजिकैको बारीमा लगेर बलात्कार गरेको परिवारलाई सुनाएकी थिइन् । स्थानीय शतिसले विवाह गर्छु भन्दै घरबाट बोलाएर लगेपछि बलात्कार गरेको सुनाएको किशोरीका दाजुले बताए ।

सोमबार मध्यराति करिब १ बजे घर पछाडि टर्च लाइट बलेको देखेपछि स्थानीय युवाहरु भेला भएर टर्च बलेको क्षेत्रमा पुग्दा गाउँकै बाली रेखदेख गर्न बनाएको टहरामा विमलेश महरा, शतिस साफी र ती किशोरी फेला परेको गाउँलेहरूले बताएका छन् ।

अघिल्लो दिन गाउँकै रामभगत सदायको मोबाइल चोरी भएकाले चोरहरु फेरि आए होलान् भन्दै गाउँले युवाहरु भेला भएर त्यहाँ पुग्दा विमलेश र किशोरी टहराको टाँड र शतिस भुइँमा केराको पात ओछ्याएर सुतिरहेको अवस्थामा फेला परेको स्थानीयको भनाइ छ ।

‘विमलेश हामीलाई देखेर भागे पनि शतिसलाई भने समाएर गाउँमा ल्यायौं,’ मृतक किशोरीका दाजुले भने, ‘शतिसलाई पक्राउ गरे पनि उनका बाबुले बिहान पञ्चायतमा ल्याउने सर्तमा शतिसलाई लिएर गए ।’

राति शतिस र किशोरी दुवैलाई हप्किदप्की गरेर घर पठाएको स्थानीयले बताएका छन् । बिहान छलफलमा बस्न गाउँलेहरु भेला हुँदै गर्दा आंगनमा देखिएकी किशोरी केही बेरमै घरमा पासो लागेको अवस्थामा फेला परेको गाउँलेहरूको भनाइ छ ।किशोरीका बुबा रोजगारीको लागि कतारमा छन् । उनी आमा, दाई, बहिनी र भाइहरूसँग घरमा बस्दै आएकी थिइन् । किशोरीलाई जबर्जस्ती करणी गरी आत्महत्या गर्न दुरुत्साहन गर्ने युवकलाई पक्राउ गर्न स्थानीयहरुले माग गरेका छन् ।

१५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयले गाउँकै दुई युवक शतिस र विमलेशलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग मंगलबार केही बेर अवरुद्ध गरेका थिए ।

मृतक किशोरीका परिवारले मंगलबार इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जारेरी दिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले घटना शंकास्पद रहेकाले पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित : असार २२, २०७९ २०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?