कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कमला–कञ्चनरूप राजमार्ग खण्ड विस्तार

भरत जर्घामगर

सिरहा — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको राजमार्ग विस्तार तीव्र रूपमा भइरहेको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजदरको ऋण लगानीमा विभिन्न खण्डमा कल्भर्ट, पुल निर्माण र सडक विस्तार भइरहेको हो । 

कमला–कञ्चनरूप राजमार्ग खण्ड विस्तार

सडक विभागको एडीबी निर्देशनालयका अनुसार करिब १५ अर्ब रुपैयाँमा काम सक्ने गरी चिनियाँ कम्पनी चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुपले राजमार्ग विस्तारको दुवै खण्डमा ठेक्का पाएपछि निर्माणले तीव्रता पाएको छ । करिब ८७ किलोमिटरको यो सडकको बीचमा ‘मेडियन’ (डिभाइडर संरचना) निर्माण गरिनुका साथै दुईतर्फ ७–७ मिटर र एउटा लेन साढे ३ मिटरको रहने जनाइएको छ ।

कमला–कञ्चनपुर राजमार्ग खण्डको बजार क्षेत्र बाहिर पर्ने ६८ दशमलव ११ किलोमिटर खण्ड चार लेन र कञ्चनपुर, जन्डोल, वीरेन्द्रबजार, रुपनी, शम्भुनाथ, लहान, गोलबजार, मिर्चैया र बन्दीपुरमा गरी कुल ३२ दशमलव ६ किलोमिटर खण्ड ६ लेनको रहनेछ । लहान र रुपनीमा अण्डरपास तथा लहानमा दुई ठाउँमा ओभरहेड पुलसमेत बनाइने ग्रुपले जनाएको छ ।

सन् २०२३ को अक्टोबरसम्म राजमार्ग निर्माण सम्पन्न गर्ने गरी काम थालेको चिनियाँ कम्पनीले निर्माणमा प्रयोग हुने सवारीदेखि अन्य सामान चीनबाटै ल्याएको छ ।

‘कम्पनीले राजमार्ग खण्डमा चाहिने प्रि–कास्ट कल्भर्ट र प्रि–कास्ट ब्रिज कम्पनीको यार्डमा अत्याधुनिक प्रविधिको प्रयोग गरी निर्माण गरेको छ,’ कम्पनीका दोभाषे मनोज भट्टले भने, ‘त्यसरी निर्माण गरिएको प्रि–कास्ट कर्ल्भट र ब्रिज सिधै राजमार्ग निर्माणमा जडान गर्दै आएको छ ।’ यताका जनशक्ति पनि निर्माणमा खटिएको उनले बताए । ‘चिनियाँ र नेपाली दुवै प्राविधिक जनशक्ति राजमार्ग निर्माणमा छन्,’ भट्टले भने ।

प्रकाशित : असार २२, २०७९ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?