कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट निकासा छानबिन गर्न संसदीय समिति

धनुषा — मधेस प्रदेशको अर्थ मन्त्रालयबाट जिल्लामा सोझै बजेट पठाएको विषयमा छानबिन गर्न संसदीय समिति गठन गरिएको छ । मन्त्रालयले सप्तरीमा उपभोक्ता समितिमार्फत काम गराउन २० करोड रकम पठाएको विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सचेतक परमेश्वर साहले माग गरेपछि संसदीय समिति बनाइएको हो । 

सम्बन्धित मन्त्रालयमार्फत बजेट नपठाई सोझै सिँचाइ कार्यालयलाई बजेट दिएको विषयमा अर्थमन्त्रीले प्रदेशसभामा जवाफ दिनुपर्ने र छानबिनका लागि संसदीय समितिको माग गर्दै लोसपाका सांसदहरूले प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सिँचाइ कार्यालय सप्तरीले भौतिक विकास मन्त्रालयलाई भनेपछि मन्त्रालयले जेठ १६ मा निर्णय गरेर पठाएपछि मात्र अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन गरेको जवाफ दिएका थिए । मन्त्रीले सप्रमाण जवाफ दिनुपर्ने र यस विषयमा प्रश्न उठेकाले प्रदेशसभाबाट समिति बनाई अनुगमन गरेर जानकारी गराउन समिति गठन गर्नुपर्ने माग विपक्षीको थियो ।

सभामुख सरोज रायले ८ सदस्यीय समिति गठन गरेका हुन् । १५ दिनभित्रमा प्रतिवेदन पेस गर्ने गरी उपसभामुख उपमा देवको संयोजकत्वमा समिति गठन भएको छ । समितिका सदस्यहरूमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह छन् । समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको तालालगायत विषयमा अनुगमन तथा छानबिन गरी १५ दिनमा सभामुखसमक्ष प्रतिवेदन पेस गर्ने जनाइएको छ ।

प्रकाशित : असार २१, २०७९ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?