कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ करोड लागतमा पार्क बनाइने

सुनिता बराल

महोत्तरी — सहरमा वन विकास गर्ने योजनासहित महोत्तरीको रातु खोलाको बगरमा रातु मित्रपार्क निर्माण हुने भएको छ । बर्दिवास नगरपालिका १, ६ र १४ अन्तर्गत पर्ने करिब १९ बिघा खोलाको बगर क्षेत्रलाई मित्रपार्कका रूपमा विकास गरिने भएको हो । 

२१ करोड रुपैयाँ लागत अनुमानसहित पार्कको निर्माण थालिएको रोटरी क्लब अफ बर्दिवासले जनाएको छ । क्लबका पूर्वअध्यक्ष विष्णु खड्काले पहिलो चरणमा ११ करोड बराबरको काम गर्ने लक्ष्य रहेको र अहिलेसम्म १ करोड २६ लाख लागतमा पार्कलाई हरियाली बनाउने काम पूरा गरिएको जानकारी दिए । अहिले रातु खोलाको बगरमा चल्की, गोलमोहर, सत्तिवन, पारिजात, रुद्राक्ष, राजवृक्षलगायत १७ प्रजातिका २६ सय बिरुवा रोपेर पार्कलाई हरियाली बनाउने योजना रहेको खड्काले बताए । पार्कलाई छिट्टै हरियाली बनाउने योजनाअनुरुप भारतको कोलकत्ताबाट ५ देखि ८ फिटसम्मका बिरुवा ल्याएर रोपिएको खड्काले जानकारी दिए ।

नेपालमा ठूला बिरुवा किन्न नपाएपछि नेपालकै नर्सरीको सहयोगमा भारतबाट बिरुवा झिकाएर रोपिएको उनले बताए । पहिलो चरणको कामअन्तर्गत क्लबले ७ बिघा बगर क्षेत्रलाई बाउन्ड्री वाल लगाउने, रातु खोलाको ड्याम मजबुत बनाउने, पार्कभित्र अपांगमैत्री ट्र्याक निर्माण गर्ने र वृक्षरोपण गर्ने काम सकिएको खड्काले बताए ।

संघीय सहरी विकास मन्त्रालयबाट १ करोड, भूसंरक्षण विभागबाट ७४ लाख २७ हजार र बर्दिवास नगरपालिकाको ३१ लाख ८३ हजार बजेटबाट पार्कको काम निरन्तर अघि बढिरहेको क्लबले जनाएको छ ।

सहरी विकास मन्त्रालयको सहरी वन विकास परियोजनाअन्तर्गत रोटरीसँग सहरलाई वन बनाउने योजनासहितको पार्क निर्माण गर्ने सम्झौताअनुसार काम अघि बढेको छ । अव पार्कभित्र पिकनिक स्पोर्ट, पार्कलाई पर्यटनसँग जोड्न वन्यजन्तुको संरचना, आराम स्थल र गार्डेनिङलगायत थप काम अघि बढाइने रोटरी क्लब बर्दिवासले जनाएको छ । रोटरीले बृहत् योजनाअनुसार निर्माण गरेको पार्क बर्दिवासका लागि महत्त्वपूर्ण रहेको स्थानीयले बताए ।

बर्दिवासमा खोलाको बगरलाई संरक्षण गर्ने, खोलाबाट गाउँबस्तीलाई सुरक्षित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने गरी हरियाली पार्क बनाउने काम राम्रो भएको बर्दिवासका स्थानीय नवराज तिमिल्सिनाले बताए । पार्क संरक्षण गर्न नगरपालिकालाई आग्रह गरिने र विस्तार गर्ने योजना पनि रहेको रोटरीका अध्यक्ष विजय महतोले बताए ।

प्रकाशित : असार २१, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?