वाग्मतीमा बेपत्ता दुई भारतीय नागरिक मृत भेटिए

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर १ स्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका बेला शनिबार दिउँसो वाग्मती नदीले बगाएर बेपत्ता दुई भारतीय युवक आइतबार मृत अवस्थामा भेटिएका छन् ।

वाग्मतीमा बेपत्ता दुई भारतीय नागरिक मृत भेटिए

सुरक्षाकर्मीले खोजीको क्रममा उनीहरूको शव आइतबार घटनास्थलबाट झण्डै १० किलोमिटर दक्षिणतर्फ नदी किनारमा फेला पारेको हो ।

भारतको सीतामाढी जिल्ला कोटबजार बस्ने २७ वर्षीय सुमन साह, ३० वर्षीय मयक अग्रवाल र ३० वर्षीय गोलु कुमार बीआर ०१ एचएफ ६६१९ नम्बरको कारमा पर्यटकीय नुनथर घुम्न आएका बेला पौडी खेल्ने क्रममा वाग्मतीले बगाएर बेपत्ता भएका हुन् । नदीले बगाएकै अवस्थामा सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए । दुई जना मयक र गोलु कुमार बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र सन्तपुरस्थित सशस्त्र प्रहरी बेसबाट खटिएको सुरक्षाकर्मी टोलीले बेपत्ताको खोजी गर्ने क्रममा बृन्दावन नगरपालिका १ स्थित बलेरिखोर र चन्द्रपुर ९ को सिमाना टोकार भन्ने स्थानमा वाग्मती खोलाको बगरमा गोलु र मयकलाई मृत अवस्थामा फेला पारेको इलाका प्रहरीका डीएसपी सन्तु जैसवारले बताए ।

‘खोजी गर्दै जाँदा दुवै जनालाई घोप्टो परेको अवस्थामा फेला पारेका हौं,’ उनले भने, ‘घटनाबारे अहिले थप अनुसन्धान भइरहेको छ ।’

नुनथर क्षेत्र घुम्न आउनेहरू हरेक वर्ष वाग्मतीमा पौडी खेल्ने क्रममा बगाएर मृत्यु हुने क्रम बढ्दो छ । पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तरमा रहेको नुनथर क्षेत्र घुम्न ठूलो संख्यामा भारतीयहरू आउने गर्छन् । उनीहरु नुनथरमा रहेको प्रख्यात झोलङे पुलमा पर्यटकहरू सेल्फी खिच्नुका साथै मोटरबोट चढेर रमाइलो गर्छन् । धेरैजसो नदीमा पौडी खेलेर आनन्द लिन यहाँ आउँछन् ।

प्रकाशित : असार १९, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?