कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी विद्यालयको शुल्कको विरोध

चालु शैक्षिक सत्रमा मासिकदेखि अन्य शुल्क ५० प्रतिशतसम्म बढाएको आरोप

पर्सा — वीरगन्जका निजी विद्यालयले आफूखुसी चर्को मासिक तथा वार्षिक शुल्क असुल्न थालेको भन्दै यहाँका अभिभावक संघर्षमा उत्रिएका छन् । उनीहरूले अभिभावक संघर्ष समिति गठन गरेर यसै सातादेखि आन्दोलन थालेका हुन् । 

निजी विद्यालयको शुल्कको विरोध

समितिले शनिबार प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाउने र घण्टाघरबाट विरोध र्‍याली निकाल्ने भएको छ । अभिभावक सन्दीप साहले वीरगन्जका नाम चलेका तथा धेरै विद्यार्थी पढ्ने निजी स्कुलले अभिभावकसँग कुनै छलफल नगरी चालु शैक्षिक सत्रदेखि मासिक शुल्क ५० प्रतिशतसम्म बढाएको आरोप लगाए ।

‘हामी अभिभावकलाई कुनै जानकारी र सरसल्लाह नै नगरी मासिक तथा अन्य शुल्क बढाइएको छ,’ उनले भने । पोसाक, किताब र अन्य सामग्रीमा कमिसनखोरी बढेको, बर्सेनि किताब परिवर्तन गर्ने प्रवृत्ति बढेको र धरौटी रकम फिर्ता नगर्ने गरेकाले बाध्य भएर संघर्षमा उत्रिनुपरेको उनले बताए ।

अर्का अभिभावक मनीष मिश्रले कोरोना महामारीपछिको आर्थिक मन्दीको अवस्थालाई बेवास्ता गर्दै निजी विद्यालयले शुल्क बढाएकोमा आपत्ती जनाए । ‘विद्यालय सेवामूलक संस्था हो । तर सेवालाई व्यापार बनाइएको छ,’ उनले भने, ‘विभिन्न बहाना बनाएर धेरैजसो निजी विद्यालयले आफूखुसी मनोमानी ढंगले ५० प्रतिशतसम्म वृद्धि हुने गरी शुल्क उठाइरहेका छन् ।’ निजी विद्यालयहरुले चर्को शुल्क लिइरहे पनि सम्बन्धित निकायले अनुगमनमा ध्यान नदिएको उनको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी ढकालले सरोकारवाला पक्षलाई राखेर समस्या समाधानका लागि छलफल गर्ने बताए । ‘अभिभावकको लिखित गुनासो आएको छ,’ उनले भने, ‘यस सम्बन्धमा सरोकारवाला सबै पक्षलाई राखेर छलफल गरी निकास दिने प्रयास जारी छ ।’ वीरगन्जका प्रमुख सिंहले आफूले महानगरपालिकाको कार्यालयमा एक/दुई दिनभित्रै शिक्षालगायतका समिति गठन गर्न लागेको र समितिले गर्ने निर्णय लागू गरिने बताए । उनले भने, ‘शिक्षा समितिले जे निर्णय गर्नेछ, विद्यालयको हकमा त्यही लागू हुनेछ, त्यसपछि अभिभावकको माग पनि सम्बोधन हुन्छ ।’

प्रकाशित : असार १८, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?