कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१४ महिनापछि परिवार भेटिँदा...

मानव सेवा आश्रममा आश्रित बिहार दरभंगाकी रीना देवीको पारिवारिक पुनर्मिलन
शंकर आचार्य

पर्सा — वीरगन्जस्थित मानव सेवा आश्रममा ९ महिनादेखि आश्रित ३२ वर्षीया रीना देवीको आँखा बिहीबार सबेरैदेखि आश्रमको मूल गेटतिर सोझिएको थियो । नजाओस् पनि किन ? १४ महिनापछि परिवारजनसंग भेट्ने अवसर जो उनलाई मिल्दै थियो ।

१४ महिनापछि परिवार भेटिँदा...

बिहान करिब ७ बजेतिर भारत बिहारको दरभंगा जिल्ला बरना पञ्चायत कुशेश्वर थाना वडा–३ बाट उनका श्रीमान् रवीन्द्र मुखिया, १० वर्षीय छोरा शिवम् र ७ वर्षीया छोरी शिवानी आश्रम आइपुगे । श्रीमान् र छोरा–छोरीलाई देखेपछि रीनाको मन थामिएन । उनको भक्कानो छुट्यो । आमालाई अँगालो हालेर शिवम् र शिवानी पनि रुन थाले । खुसीको आँसुले आँखा रसाएका रवीन्द्रले आफ्नो र बालबच्चाका आँसु पनि पालैपालो पुछ्न थाले ।

अचानक बेपत्ता भई फेरि भेटिने आशा मारिसकेकी श्रीमती रीनालाई भेटेपछि रवीन्द्रमा खुसीको सीमा थिएन । ‘मैले त यो जुनीमा उनलाई फेरि पनि भेट्छु भनेर माया मारिसकेको थिए । उनलाई भारतको दरभंगा, समस्तीपुरसम्म पुगेर खोजेको थिएँ,’ उनले भने, ‘अहिले भेट्दा सपनाजस्तो लागेको छ । भगवानले मलाई पत्नी र छोराछोरीलाई सकुशल आमासित भेटाइदिए । म मेरो खुसी शब्दमा बयान गर्न सक्दिनँ ।’

बिहीबारै पहिलो पटक अनुहार देखेका ९ महिने छोरा उज्ज्वललाई बोकेर उनले धेरैबेरसम्म म्वाइँ खाइरहे । रीनाले पनि

जेठो छोरा शिवम् र छोरी शिवानीलाई धेरै बेर सुमसुम्याइरहिन् । दिदी लिन भिनाजु र भान्जाभान्जीसँगै आएका रीनाका भाइ इन्द्रजितलाई अँगालो हालेर रीना धेरै बेरसम्म रोइन् ।

चलचित्रको कथाजस्तै लाग्ने पारिवारिक पुनर्मिलनको यो दृश्य आश्रममा आश्रय लिइरहेका अन्यका लागि पनि नौलो थियो । रीनालाई मानव सेवा आश्रम वीरगन्जका अभिभावक एवम् सामाजिक अभियन्ता प्रकाश थारूसहितको टोलीले २०७८ असोज १२ मा धनुषाको धारापानी गाउँपालिका–९ स्थित जंगलमा बेवारिसे अवस्थामा फेला पारेको थियो । मानसिक अवस्था ठीक नभएकी गर्भवती रीनालाई त्यसै दिन वीरगन्जस्थित प्रभु अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालकी डा. लक्ष्मी थापा र मनोचिकित्सक भरत गोइतको निगरानीमा रीनाले त्यसै दिन अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । आश्रमले बालकको नाम उज्ज्वल मानव राखिदिएको थियो ।

रवीन्द्रका अनुसार रीनाको मानसिक अवस्था एक दशकअघिदेखि नै ठीक थिएन । उनको औषधोपचार चल्दै थियो । तर, नियमित औषधि नखाइदिने बानीले उनी पूर्णरुपले स्वस्थ्य हुन सकेकी थिइनन् । यसअघि पनि घरबाट बिनाखबर हिँडिदिने बानी भए पनि श्रीमतीलाई भेटेर घर फर्काएर ल्याउने गरेकोमा यसपटक भने असफल भएको उनले बताए । ‘मानसिक अवस्था ठीक नभएकी र गर्भवती पत्नी बेपत्ता भएपछि म धेरै चिन्तित थिए,’ उनले भने, ‘मेरो घरबाट नेपाल बोर्डर करिब १ सय ७२ किमि टाढा पर्छ, उनी हिँड्दै नेपाल आइपुगिन् होला भनेर सोचेकै थिइनँ ।’

आश्रमका अभिभावक थारूले रीनाको उनको परिवारसँग पुनर्मिलन सामाजिक सञ्जालका माध्यमबाट भएको बताए । ‘मैले रीनाको तस्बिरसहित उनी आश्रममा आश्रित रहेको स्टाटस फेसबुकमा राखेको थिएँ,’ उनले भने, ‘त्यसपछि एक जना अपरिचितले आफूले रीनालाई चिनेको भन्दै उनको ठेगाना र गाउँको मुखियाको सम्पर्क नम्बर पनि दिए । मैले मुखियाजीलाई फोन गरें । उनैले रवीन्द्रसँग कुरा गराइदिएका हुन् ।’

रीनालाई श्रीमान् रवीन्द्रले बिहीबारै घर लगेका छन् । आश्रमका केन्द्रीय सदस्य एवम् वीरगन्ज शाखा प्रमुख देवेश मानव सेवाले रीना औषधोपचारपछि पूर्णरूपले स्वस्थ्य भइसकेको बताए । २०७४ जेठ १५ यता आश्रममा आश्रित ५६ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको उनले बताए । तीमध्ये भारतीय र बंगलादेशी नागरिक पनि छन् । यस अवधिमा आश्रममा सडकबाट उद्धार गरी १ सय ५६ जनालाई ल्याइएकोमा १८ जनाको मृत्यु भइसकेको छ । ४७ जना स्वेच्छाले घर गएका थिए ।

प्रकाशित : असार १७, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?