कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ पक्रन आएको निकुञ्जको प्राविधिक टोली हात्ती छाडेर फर्कियो

शंकर आचार्य

पर्सा — मानव बस्तीमा प्रवेश गरेको बाघ फेला पार्न नसकेपछि ठोरी आइपुगेको चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली फर्किएको छ । सरस्वती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार निकुञ्जबाट शनिबार साँझ ठोरी आइपुगेको ७ प्राविधिकको टोली सोमबार साँझ फर्किएको हो । टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने योजना बनाएको थियो । 

बाघ पक्रन आएको निकुञ्जको प्राविधिक टोली हात्ती छाडेर फर्कियो

टोलीले सँगै ल्याएको ३ वटा हात्ती भने ठोरीमै छाडेर गएको छ । ‘बाघ फेरि देखा परेमा २ घण्टाभित्रै आइपुग्ने बताउँदै प्राविधिक टोली हात्तीलाई ठोरीमै छाडेर फर्किएको हो,’ उनले भने, ‘तीनवटै हात्तीलाई निकुञ्जको ठोरीस्थित दिपकनगर रेन्ज पोस्टमा राखिएको छ ।’

शनिबार ठोरी आएलगत्तै निकुञ्जको प्राविधिक टोलीले बाघको गतिविधि नियाल्न मानव बस्ती छेउमा रहेको निकुञ्जको वन क्षेत्रमा आधा दर्जन क्यामेरा जडान गरेको थियो ।

आइतबार बिहान ती क्यामेरामा हेर्दा बाघ क्यामेरामा नपरेपछि निकुञ्जको प्राविधिक टोली सेना, प्रहरी र स्थानीयसमेतको टोलीले ३ वटा हात्तीसहित आइतबार र सोमबार दिनभरि बाघको खोजी गरेको थियो । ठोरी गाउपालिका- १ चौतारामा मानव बस्तीमा प्रवेश गरेर आतंक मच्चाएको बाघलाई नियन्त्रण गर्न उक्त टोली ठोरी आइपुगेको थियो ।

साताअघि मानव बस्ती प्रवेश गरेको उक्त बाघले शुक्रबार रातिसम्म स्थानीयको बाख्रा, बंगुर र पाडा गरी आधा दर्जन चौपाया खोरबाटै लगेको थियो ।

ठोरीमा बाघ खोजीमा निस्केको चितवन राष्ट्रिय निकुञ्चका प्राविधिक र सेनाको टोली । तस्बिर : जगेन्द्र पौडेल

प्रकाशित : असार १५, २०७९ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?