कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

दिवा खाजाले विद्यार्थी नियमित

‘विद्यालयमै खाजा खान पाइएपछि अब पढाइ छाडेर बीचमै घर जानै मन लाग्दैन’
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–६ स्थित आधारभूत विद्यालय बेल्डीको कक्षा ५ मा पढ्ने १२ वर्षीय प्रिती ठाकुर नियमित विद्यालय आउँछिन् । विद्यालयमै दिवा खाजाको व्यवस्था भएका कारण उनीजस्तै नियमित विद्यालय आउने विद्यार्थीको संख्या बढेको छ ।

दिवा खाजाले विद्यार्थी नियमित

दिवा खाजाले आधारभूत विद्यालय बेल्डी मात्र होइन, जिल्लाभरका विद्यालयमा विद्यार्थी नियमित आउन थालेका छन् । खाजाले बालबालिकामा उत्साह पनि जगाएको बेल्डीका प्रधानाध्यापक मुकुन्द हुमागाईंले बताए । ‘नयाँ भर्ना हुने विद्यार्थीको संख्या पनि उत्तिकै बढेको छ । पहिला विद्यालय आउनै खोज्दैनथे । आए भने पनि टिफिनमै घर जान्थे,’ उनले भने, ‘दिवा खाजाले विद्यार्थीमा उत्साह थपेको छ । बालबालिका पेटभरि खान पाएपछि मज्जाले पढ्न बस्छन् ।’ विद्यालयमा १ देखि ५ कक्षासम्मका १ सय ५० बालबालिका छन् । विद्यालयले प्रत्येक दिन थरीथरीका खाजा बनाएर दिने गरेको छ । खिर, हलुवा, खिचडी र चना–चिउरा खाजाका रूपमा दिइने गरेको प्रधानाध्यापक हुमागाईंले सुनाए ।

सरकारले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई १ सय ८० दिनसम्म दिवा खाजा खुवाउने अवधारणा ल्याएको छ । पोषणयुक्त खाजाले बालबालिकाको स्वास्थ्य राम्रो हुनुका साथै क्षमता विकास हुने पनि विभिन्न अध्ययनले देखाएको छ । निम्नवर्गका विद्यार्थीलाई यो कार्यक्रम अझै लाभदायी बनेको छ । ‘पहिले भोकभोकै पढ्नुपर्थ्यो । यही कारण टिफिनमा भागेर घर जान्थ्यौं,’ प्रिती भन्छिन्, ‘विद्यालयमै खाजा खान पाइएपछि अब पढाइ छाडेर बीचमै घर जानै मन लाग्दैन ।’

चन्द्रपुर–५ मै रहेको अम्बिका आधारभूत विद्यालयका प्रधानाध्यापक मुरारी चालिसेले दिवा खाजापछि विद्यार्थी घर भाग्ने र नआउने समस्या अन्त्य भएको सुनाए । ‘पहिलेको तुलनामा विद्यार्थीहरू नियमित हुने क्रम बढेको छ,’ उनले भने, ‘पहिले टिफिनमा घर गएपछि आउँदैनथे । अहिले घर जान मान्दैनन् ।’ १८ स्थानीय तह भएको रौतहटमा गरिब विपन्न परिवारको संख्या धेरै छ । कृषि, पशुपालन तथा दैनिक ज्यालादारीमा निर्भर परिवारका बालबालिका भर्ना भएर पनि विद्यालय आउन मान्दैनथे । तर दिवा खाजापछि उनीहरू नियमित आउन थालेका छन् । जिल्लाभरी झन्डै ४ सयको हाराहारीमा आधारभूत विद्यालय छन् । तिनमा अध्ययनरत बालबालिकाहरू पछिल्लो समय नियमित आउन लागेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ गौरका प्रमुख रामविनय सिंहले बताए ।

‘सरकारले दिवा खाजाको अवधारणा ल्याएपछि विद्यालयमा नियमित पढ्न आउने बालबालिकाको संख्या ३० प्रतिशतले बढेको छ,’ उनले भने, ‘पहिले भर्ना गरेर पनि नियमित आउँदैन्थे । दिवा खाजाले नियमित मात्र होइन बालबालिकालाई बेग्लैखाले उत्साह जगाएको छ ।’ सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ का अनुसार बालबालिकाको स्वास्थ्य, पोषणयुक्त खाना, विद्यालयमा नियमित दर वृद्धिलगायत लक्ष्य राखी यो कार्यक्रम लागू गरिएको हो ।

प्रकाशित : असार १४, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×