कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

बस्ती नै कटानको जोखिम

अवधेशकुमार झा

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ अर्जीको मुसहर बस्ती कटानको जोखिममा परेको छ । महुली खोलाको बाढी र पानी निकासका लागि बनेको खोल्सीले बस्तीमा कटान थालेको हो । 

बस्ती नै कटानको जोखिम

अति विपन्न मुसहर समुदायको बस्ती कटान हुन लाग्दा पनि कतैबाट जोगाउने प्रयास हुन सकेको छैन । बस्तीमा ऐलानी जग्गामा १० परिवारको बसोबास छ । ‘पश्चिमबाट महुली खोला र पूर्व दक्षिणबाट खोल्सीको पानीले हाम्रो थातथलो कटान गरिरहेको छ,’ स्थानीय मन्जुदेवी सदाले भनिन्, ‘एउटा घर बाढीले बगायो । अरू घर पनि जोखिममा छन् । बाढीले घेरिएका छौं ।’

सोमबार राति मुसलधारे वर्षा हुँदा खोल्सीमा पानी बढेर बस्तीका सर्वसाधारण घरबाहिर निस्कन सक्ने अवस्थामा थिएनन् । मंगलबार पानीको बहावमा कमी आएपछि मात्र उनीहरू वबाहिर निस्कन पाए । ‘दैनिक कटान बढ्दै गएको छ,’ सदाले भनिन् ।

तत्कालै नियन्त्रण गर्न नसके केही दिनभित्रै उक्त बस्ती बगरमा परिणत हुने स्थानीयको भनाइ छ । ‘यहाँबाट विस्थापन भए हामी कहाँ जाने,’ सदाले भनिन्, ‘हामी दैनिक कमाएर गुजारा गर्नेहरूको थातथलो बगाए कहाँ गएर छाना खोज्नु ?’ बाढीले बस्ती घेरिँदा सर्पको प्रकोप पनि बढेको उनले बताइन् । हनुमाननगर कंकालिनी–४ का वडाध्यक्ष मौली मण्डल गत वर्ष वर्षाको पानीले खोल्सी बनाउँदै मुसहर बस्ती पसेको बताए । उनले बस्तीको एक घर कटान भइसकेको र अन्य घर जोखिमपूर्ण रहेको बताए ।

नगरप्रमुख वीरेन्द्र माझीले उक्त बस्तीमा कटानको समस्या गम्भीर रहेको बताए । ‘बाढीले एउटा घर काटिसक्यो, अरू घरमा कटान लागेको छ,’ नगरप्रमुख माझीले भने, ‘बस्ती जोगाउनेतर्फ हामी प्रयासरत छौं ।’ तत्काल ह्युमपाइप हालेर आउजाउ गर्ने बाटो बनाउने र त्यसपछि कटान नियन्त्रण गर्ने उनले बताए । ‘छेउमा रहेको महुली नदीमा पुल निर्माण भइरहेको छ । समयमै निर्माण भए बस्तीको कटान नियन्त्रणका लागि सजिलो हुने थियो,’ उनले भने ।

प्रकाशित : असार ९, २०७९ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?