कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

लालपुर्जा हातमा, जग्गा खोलामा

बाढीले बर्सेनि खेतीयोग्य जग्गा र बस्ती कटान
तटबन्ध बनाउन पर्याप्त बजेट नआएको गुनासो
भरतजर्घा मगर

सिरहा — बर्सेनि धार परिवर्तन गरिरहने बलान नदीका कारण सिरहाका धेरै गाउँका बासिन्दा मारमा परेका छन् । वर्षायाममा नदीमा आउने बाढीले आसपासको क्षेत्रमा ठूलो मात्रामा धनजनको क्षति हुँदै आएको छ । तर, क्षति रोक्न सम्बन्धित निकायले भने चासो दिएको छैन । 

लालपुर्जा हातमा, जग्गा खोलामा

बाढीले बर्सेनि खेतीयोग्य जग्गा र बस्ती कटान गर्दै आएको छ, जसका कारण हजारौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको स्थानीयको दाबी छ । कैयौं परिवार सुकुम्बासी भइसकेका छन् । चुरे क्षेत्रबाट दक्षिणतर्फ बगेको बलान नदीले दायाँबायाँ किनारका खेतीयोग्य जग्गामा क्षति पुर्‍याउँदै आएको हो । यस वर्षको बाढीबाट तिलबोना र करैया गाउँका १० बिघा जग्गा बगर बनाइसकेको स्थानीय कन्हैया गुप्ताले जानकारी दिए । लहान–२३ का निवर्तमान वडाध्यक्षसमेत रहेका गुप्ताले तटबन्ध निर्माण गर्न १० देखि १५ लाख बजेट दिएर झारा टार्ने काम हुदै आएको बताए ।

‘हाम्रा लागि बलान नदी अभिसाप बनेको छ,’ स्थानीय रामविलास यादवले भने, ‘नदी नियन्त्रणका लागि कतैबाट सुनुवाइ नभएपछि यो वर्षपनि त्यो अभिशाप बोक्न तयार भएर बसेका छौं ।’ खेतीको समयमा पानी नबग्ने बलानले वर्षायाममा भने कैयौं गाउँबस्तीलाई कटान गरी क्षति पुर्‍याउँदै आएको उनले सुनाए । अमरलाल यादवले पाँच वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । लहान–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौधौ छ । यसको एउटै कारण हो, बलानको फेरिएको धार । तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा नदीले कटान गरिसकेको छ । उनको लालपुर्जा हातमा छ, तर जग्गा बगरमा परिणत भएको छ ।

तिलबोनाकै महेन्द्र यादवको अवस्था पनि उनको भन्दा फरक छैन । उनको १ बिघा जग्गा बगरमा परिणत भएको छ । लालपुर्जा छ, जग्गा छैन । फुलचन यादवको १० कट्ठा जग्गा नदीले बगर बनाएको छ । बर्सेनि नदीले खेतीयोग्य जमिन बगरमा परिणत गर्न थालेपछि यहाँका किसान मारमा परेका छन् । लहान–२३ का करैया, तिलबोना, सखुवानन्कारकट्टी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ । घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने खोला पछिल्लो समय संकट बनेको हो । ‘पहिले धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ महेन्द्र यादवले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो ।’

पहिले–पहिले गाउँको उत्तरपूर्वबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो । तर, ०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबाएको स्थानीयले बताए । नदीले पश्चिमी गाउँतर्फ कटान सुरु गर्‍यो । ‘पाँच वर्षपछि फेरि नदीले सयौं बिघा खेत डुबायो,’ स्थानीय कन्हैया गुप्ताले भने, ‘डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन । प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन सक्दा वर्षैपिच्छे समस्या दोहोरिएको छ ।’

बेतहा, खुट्टी, झिरहरी र बाहुना खोला गरी पाँच वटा मिसिएर बलान नदी बन्छ । वर्षायाममा खोलाका बहाव बढ्दा थुप्रै धार बनाएको छ । पछिल्लो पटक आएको बाढीले नदीको पश्चिमी किनार कटान सुरु गरेको छ । चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको यस क्षेत्रका स्थानीय बताउँछन् । सिरहा, सप्तरी र उदयपुर जिल्लाको सीमा भएर बहेको बलान नदीको सतह प्रत्येक वर्ष केही स्थानमा तल भाँसिँदै र केही स्थानमा माथि उठदै गएकाले खेतीयोग्य जमिन कटान हुने क्रम बढ्दै गएको छ । केहीमा जमिन पुरिने क्रम बढेको छ ।

यस नदीले उदयपुर जिल्लाका केही स्थानमा कटान गरेपनि बढी प्रभावित सिरहा र सप्तरी जिल्लालाई पारेको छ । बलान नदी नियन्त्रणका लागि २०४२ सालमा तत्काल तटबन्ध निर्माण गरि नियन्त्रण गरिएको थियो । ०५८ सालको बाढीले तटबन्ध बगाएपछि नदी नियन्त्रणको प्रयास कतैबाट नभएको स्थानीय बासिन्दाले बताए । बलान नदीले पछिल्लो समय धार परिवर्तन गरी पश्चिमतर्फ हान्निँदा भगवानपुर गाउँपालिकाका १ र ४, सखुवानन्कारकट्टीका ५ र ४, लहान नगरपालिकाका–२३ जोखिममा परेका छन् । सिरहाका तीन मुख्य नदी गागन, बलान र कमला नदीमध्ये वर्षायामबाहेक अन्य समयमा सिँचाइ सुविधा कमला नदीबाट हुने गर्छ । अन्य समय बलान र गागन नदीमा बालुवा मात्र देखिने स्थानीयले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?