कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लहान नगरपालिकाले मुसहरलाई ५ हजार किरिया खर्च दिने

काठमाडौँ — सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले पदभार ग्रहणसँगै नागरिकता सिफारिस नि:शुल्क र मुसहर समुदायलाई किरिया खर्चका लागि पाँच हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् ।

लहान नगरपालिकाले मुसहरलाई ५ हजार किरिया खर्च दिने

लहान १० ग्रामीणस्थित नगर कार्यपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दै मेयर चौधरीले नगरको २४ वटै वडाका सबै समुदायलाई नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता नि:शुल्क गर्ने घोषणा गरेका हुन् । ‘नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता नि:शुल्क हुनेछ,’ उनले भने, ‘त्यसका लागि प्रमुख प्रशासकीय अधिकृतमार्फत् नगरका २४ वटै वडाका सचिवहरुलाई मंगलबार नै परिपत्र गरिएको छ ।’ नागरिकता सिफारिसका लागि नगरपालिकाले २ सय ५० रुपैयाँ शुल्क लिने गरेको थियो ।

नगर क्षेत्रभर मुसहर समुदायको कसैको मृत्यु भएमा किरिया खर्चका लागि नगरले नगद पाँच हजार रुपैयाँ उपलब्ध गराउने मेयर चौधरीले घोषणा गरेका छन् । तीन दलीय गठबन्धन अन्तर्गत कांग्रेसबाट मेयर चौधरी निर्वतमान मेयर एमालेका मुनि साह सुडीलाई ८ हजार १ सय ३६ मतको फराकिलो अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । उनले सोमबार नगर सभाहलमा नवनिर्वाचित वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ दिलाएका छन् ।

तलब सुविधाले दलित बस्तीमा खाद्यान्न

पदरभार ग्रहणसँगै उनले नियमानुसार पाउने तलब सुविधाको रकमले हरेक महिना नगरको सबै दलित बस्तीमा चामल, नुन र खानेतेल वितरण गर्ने घोषणा समेत गरे । ‘नगरका करिब चार हजार घरधुरी दलित बस्तीमध्ये हरेक महिनाको २२ गते १० किलो चामल, एक लिटर खानेतेल र एक किलो नुन बाँड्ने छु,’ उनले भने ।

कोरोना महामारीको समयमा गरिब विपन्नलाई राहत वितरण गर्दा गर्दै र गत २२ जेठमा श्रीमती संगीता कर्माचार्यको कोरोनाबाट निधन भएयता उनले हरेक महिनाको २२ गते नगरको कुनै न कुनै ठाउँमा गरिब, विपन्न, असहाय, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरीलाई व्यक्तिगत खर्चमा खाद्य सामग्री, लत्ताकपडा, पोसिलो खानेकुरा बाँड्दै आएका छन् । अप्ठ्यारोमा परेका गरिब, विपन्न परिवारलाई निरन्तर सहयोग गर्दै आएकी श्रीमतीको कोरोना संक्रमणको कारणले निधन भएपछि उनको परोपकारी कामलाई निरन्तता दिन सहयोग अभियान मेयर हुँदा पनि जारी रहने उनले बताए ।

प्रकाशित : जेष्ठ १०, २०७९ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?