१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

सर्लाहीमा विभिन्न ठाउँमा कार्यकर्ताबीच झडप

ओमप्रकाश ठाकुर

सर्लाही — शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मौन अवधि सुरु भएपनि बुधबार रातभर जिल्लाका विभिन्न स्थानमा पार्टीका नेता तथा कार्यकर्ताबीच झडप भएका छन् । जिल्लाको क्षेत्र नम्बर ४ मा झडप बढी भएका छन् । जिल्लाका राजमार्ग आसपासका क्षेत्र समान्य रहेपनि दक्षिणी क्षेत्रका अधिकांश स्थानमा अबेर रातिसम्म दुई दलका कार्यकर्ताबीच समान्य विवाद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मतदानका लागि अतिसंवेदनशील मानिएको बलरा नगरपालिकामा बुधबार अबेर राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा परेर बलरा–४ का कांग्रसबाट वडाध्यक्षका उम्मेदवार मणिभूषण सिंह र वडा सदस्यका उम्मेदवार हरेन्द्र सहनी घाइते भएका छन् भने एमाले कार्यकर्ताहरु राजगिर सहनी, नागेन्द्र सहनी र सहदेव सहनी घाइते भएका प्रहरीले जनाएको छ । घाइते भएका एमाले कार्यकर्ताको सदरमुकाम मलंगवामा उपचार चलिरहेको छ । कांग्रेसका उम्मेदवारहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फिरेका छन् ।

यस्तै बसबरियामा पनि निवर्तमान अध्यक्ष तथा कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रामअयोध्या राय पनि समान्य घाइते भएका छन् । रायलाई एमाले कार्यकर्ताले साँझ घेरेर कुटपिट गरेको कांग्रेसी नेताहरुको दाबी छ । उनको हातमा चोट लागेको छ । यता एमालेका उम्मेदवार रामविश्वास रायले आफ्ना कार्यकार्ताले कुटपिट नगरेको भन्दै आम जनताले घेरेको दाबी गरे । यस्तै बसबरियामै जनता समाजवादीकातर्फबाट अध्यक्ष पदका उम्मेदवार राम सिंहासन यादवलाई पनि अन्य दलका कार्यकार्ताहरुले दुव्र्यवहार गरेका छन् ।

धनकौलमा पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच बुधबार अवेर राति झडप भएको छ । त्यहाँ दुवै पक्षबाट आधा दर्जन कार्यकर्ता समान्य घाइते भएका छन् । प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जिल्लाको अन्य क्षेत्रको तुलनामा क्षेत्र–४ मा बढी झडपका घटना भएको जानकारी दिए । प्रहरीले बल प्रयोग गर्नु पर्ने अवस्था कतैपनि नभएको उनले जानकारी दिए । उनले सुरक्षाकर्मी बुथमा परिचालन हुँदा सिमित प्रहरी गस्तीमा परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइरहेको बताए ।

एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलका कार्यकर्तालाई पैसा बाँड्न आयो भनेर एक आपसमा भिडिरहेका छन् । मौन अवधिमा रातभर राजनीतिक दलका नेता तथा कार्यकर्ताले गाउँ टोलमा पस्ने होडबाजीले एक अर्को पक्षलाई शंका उपशंका हुँदै वादविवाद र झडपका घटनाहरु भइरहेका छन् । विभिन्न ठाउँमा एकै साथ पैसा बाँडेको सूचना पाएर दौडेका सुरक्षाकर्मीहरु समेत रणभुल्लमा पर्ने गरेका छन् । सरक्षाकर्मीहरुले भने पैसा बाँडेको आधार भेट्न नसकेको बताएका छन् ।

प्रकाशित : वैशाख २९, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?