कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘कसलाई भोट दिनू ?’

खानेपानी र बत्ती नभएको लमाहा बस्तीमा यी सुविधाको व्यवस्था गर्छु भनेर नेताहरुले झुक्याएको मतदाताको गुनासो
शिव पुरी

रौतहट — पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुर–धन्सार खण्डको लामाहा बस्तीका ७८ वर्षीय शेरबहादुर पहरीसित यतिखेर गुनासो ब्यक्त गर्ने कुनै शब्द छैन । स्थानीय तहको निर्वाचनमा मत माग्न आउनेसित उनले गुनासो पनि गर्ने छैनन् ।

‘कसलाई भोट दिनू ?’

घनघोर जंगल र राजमार्गको छेउको बस्तीमा झन्डै ३५ वर्ष बिताएका पहरीलाई नेतासित आशलाग्दो आश्वासन पनि केही रहेनन् । पहरी भन्छन्, ‘नेताका लागि सधैं उत्सव बन्ने चुनावमा कसलाई भोट दिनु ?’ सोमबार बस्तीका स्थानीय यसपालि मतदान गर्न जाने कि नजाने भन्ने सल्लाह गरिरहेका थिए ।

एकथरीको भनाइ थियो– प्रत्येक चुनाव नेता र उम्मेदवारका लागि उत्सवजस्तै हुन्छ । उनीहरू आश्वासनको लड्डु बाँडेर जान्छन्, हामी लड्डु खाएर केही समय मुख मीठो बनाउँछौं । ‘कसलाई विश्वास गर्ने । कुन दलको कुरा मान्ने,’ पहरी भन्छन्, ‘हामीले ठूलो कुरा मागेका होइनौं । खानेपानीको व्यवस्था होस् भनेका हौं । त्यो पनि दिन सकेनन् ।’ यतिका जीवन जंगलमै बिताएका पहरीका परिवार मकवानपुरको धियालबाट बस्ती हटाएपछि लमाह आएर बसेका हुन् । बस्तीका १२ परिवारले लमाहको धमिलो र कुवाको पानी पिउँदै आएका छन् । बत्ती र सञ्चारको पनि सुविधा छैन । लमाह खोलाको किनार र ढिस्को छेउमा स्थानीयले आधा दर्जन स्थानमा खाडल (कुवा) बनाएका छन् । वर्षाको बेला बाढीले त्यही कुवा पनि बगाएपछि समस्या हुने गरेको छ । चुनावका बेला खानेपानी, बत्ती, सञ्चार र स्थायी बसोबासको व्यवस्था गर्छु भनेर नेताहरूले झुक्याएको उनीहरूको भनाइ छ ।

२०७४ सालको स्थानीय तहको चुनावका बेला बस्तीमा गाडीको ताँती लागेको थियो । एउटा पार्टी भोट मागेर जान नपाउँदै अर्को दलका उम्मेदवार आइपुग्थे । यसपालि भने उम्मेदवारहरू उक्त बस्तीमा जान हच्केका छन् । बस्तीका ५० वर्षीय पदमबहादुर पहरीको गुनासो पनि उही हो । ‘हामी कसका लागि भोट हाल्ने । कुन पार्टीलाई भोट हाल्ने,’ उनी भन्छन्, ‘हामीले जागिर मागेको होइन । कष्टमा बाँच्ने गरिबलाई पानी देऊ भन्दा नेताले सुनेनन् ।’ जितेपछि मुखै देखाउन नआउने गरेकाले उनीहरूले चित्त दुखाएका छन् । चुनाव नजिकिँदै गर्दा अहिलेसम्म बस्तीमा एमाले र माओवादी पार्टीमात्र भोट माग्न आएको स्थानीयले बताए ।

‘यसपटक हामीले उम्मेदवारसित केही मागेनौं । मागेर दिने भए पो ? शेरबहादुर भन्छन्, ‘पानीका लागि तड्पेको झन्डै ३५ वर्ष हुन लाग्यो । तर कुनै पार्टीको ध्यान जान सकेन । त्यसैले कुनै सर्तबिना उम्मेदवारलाई बिदा गरेर पठायौं ।’

भोट माग्दै शिक्षक

महोत्तरी – शिक्षकले खुलेर कसैको पक्ष वा विपक्षमा मत माग्न नहुने र चुनावी प्रचारमा संलग्न हुन नहुने भनिए पनि महोत्तरीका धेरै शिक्षक यतिबेला दल र नेताका प्रचारमा खुलेरै लागेका छन् । जिल्लाका शिक्षकहरू पार्टी र नेताका झन्डै बोकेर प्रचारमा निस्किएका हुन् ।

जिल्लाका शिक्षकलाई पेसाको हकहितमा लाग्न र कुनै दल तथा उम्मेदवारको पक्षमा नलाग्न शिक्षक महासंघ केन्द्र र जिल्लाले आग्रह गरे पनि बेवास्ता गरेका छन् । जिल्लाका सबै शिक्षकलाई महांसघ केन्द्रबाट आएको पत्रसहित सचेत गराइएको नेपाल शिक्षक महासंघ महोत्तरीका सचिव कुमार घिमिरेले जानकारी दिए । जिल्लाका धेरै शिक्षकहरू आचारसंहिताको ख्याल नगरी निर्वाचनको प्रचारमा हिँडेको सूचना आएको घिमिरेले बताए । अधिकांश शिक्षक पार्टीका शिक्षक संगठनहरूमा आबद्ध भएकाले पार्टीका झन्डा बोकेर हिँड्ने र आचारसंहिताको ख्याल नगर्ने समस्या रहेको घिमिरेले बताए ।

जिलाको उत्तरीभन्दा दक्षिणी भेगका शिक्षकहरू बढी निर्वाचन प्रचारप्रसारमा देखिएका छन् । जलेश्वर, मटिहानी, गौशाला, सम्सी लगायतका पालिकामा शिक्षकहरू चुनावी प्रचारमा देखिएका छन् । सामाजिक सञ्जालमा मापदण्डविपरीत मत सर्वेक्षण गर्ने कार्यमा समेत शिक्षक देखिएपछि प्रहरीले एक शिक्षकलाई स्पष्टीकरणसमेत सोधेर छाडेको छ । महोत्तरीको बर्दिवास ५ मा रहेको इच्छेश्वर माविका प्रधानाध्यापक निश्चल प्रदीप भनिने प्रदीप अधिकारीलाई प्रहरीले सोधपुछ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा आफूले कल्पना गरेर मत संख्या राखिएको सर्वेक्षण देखाएपछि अधिकारीलाई सोधपुछ गरिएको हो । गौशाला नगरपालिकाको बेलगाछीस्थित विद्यालयका प्रधानाध्यापक दिनेश श्रेष्ठ भोट माग्दै हिँडेको तस्बिर सामाजिक सञ्जालमै भेटिन्छन् । जिल्लाभरि धेरै शिक्षकहरूले मत मागिरहेकाले यस्तो कार्य नगर्न जिल्ला महासंघले सचेत गराएको छ ।


प्रकाशित : वैशाख २९, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?