पगपग पोखर, माछ-मखान- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
परिकारमा पहिचान

पगपग पोखर, माछ-मखान

मधेस भन्नासाथ पान, बरमझियाको पेडा र सेकुवा सम्झेर धेरैको मुख रसाउँछ
सन्तोष सिंह

जनकपुर — ५२ कुट्टी (मन्दिर) र ७२ कुण्ड (तलाउ) को सहर जनकपुर माछाका लागि पनि चर्चित छ । जनकपुर आउने मांसाहारी पर्यटक माछा नखाई फर्कंदैनन् । तारेको माछाको टुक्रा मुरहीसँग खाँदाको स्वाद जिब्रोले हतपती भुल्दैन । जसरी माछा थरीथरीका हुन्छन्, माछाका परिकार पनि यहाँ अनेक थरीकै पाइन्छन् ।

जनकपुर आउने श्रद्धालु मन्दिर दर्शन र पूजाआजा नसकेसम्म प्रायः निराहार बस्छन् । पूजाआजापछि उनीहरूको ध्यान माछाको परिकारमा सोझिन्छ । माछाको मात्रै विशेष परिकार खुवाउने होटल खोज्दै हिँड्छन् ।

माछाको स्वादिलो परिकार पाइने केही निश्चित ठाउँ छन्, जहाँ पालो पर्खिनुपर्छ । एयरपोर्ट एरियामा रहेको ललनको माछा पसलमा साँझ अबेर पुगियो भने रित्तै फर्किनुपर्छ । त्यहाँ माछाको पेटी (बीचको भाग) ग्राहकको पहिलो रोजाइमा पर्छ । आधा केजीभन्दा बढीको पेटी एउटा खाँदा पेट अघाउँछ तर मन अघाउँदैन । राम मन्दिरपछाडि रहेको आनन्द घरेलु माछा पसलमा पारखीहरूको भीड लाग्छ । माछा–भात खानेहरू नवरंग होटलमा पुग्छन् । पिराडी चोकमा माछालाइन छ, जहाँ माछाको परिकार तौलेर बिक्री गरिन्छ ।

पहिले जनकपुरको माछा काठमाडौंवासीको पहिलो रोजाइमा थियो । काठमाडौंमा पसलकै नाम ‘जनकपुरको माछा’ राख्ने चलनसमेत थियो । व्यवसायीका अनुसार त्यतिबेला भारतबाट ल्याइएको माछा पनि जनकपुरको भन्दै बेच्ने गरिन्थ्यो ।

मिथिला संस्कृतिमा माछा शुभ र मायाको प्रतीक हो । घरबाट लामो यात्रामा निस्किनुपर्दा माछा खाए शुभ हुने विश्वास छ । यात्रामा माछा देख्दा पनि शुभ हुने विश्वास गरिन्छ । मिथिलामा अतिथिलाई स्वागत गर्न प्रवेशद्वारमा नै माछाको चित्र बनाउने परम्परा छ । सडकपेटीमा समेत माछाको चित्र बनाउने चलन रहेको मिथिला चित्रकार मनीषा साहले बताइन् । ‘माछा भगवान् विष्णुको पहिलो अवतार हो । त्यसैले मिथिलामा महिलाले श्रीमान्को लामो आयुका लागि पनि माछा खाने परम्परा छ,’ उनले भनिन् ।

मिथिलाको वर्णन गर्दै लोकप्रिय कवि सोमदेवले लेखेका छन्, ‘पगपग पोखर, माछ, मखान, सरस मधुर मुस्की मुखपान ।’ (पाइलैपिच्छे पोखरी, माछा, मखान भेटिने मिथिलामा मुस्कुराउँदै पानले स्वागत गरिन्छ ।)

माछाका पारखीहरू यहाँ आयोजना हुने सभासम्मेलनमा सहभागी हुँदा पहिले ताजा माछाकै खोजीमा लाग्छन् । घर फर्कंदा कोसेलीका रूपमा माछा बोक्ने चलन पनि छ । यहाँको संस्कृति, सभ्यता र रहनसहन बुझ्न बाहिरबाट आउनेलाई स्थानीयले माछा खुवाएर स्वागत गर्ने परम्परा छ । मांसाहारी परिवारमा शुभकार्य र भोजभतेरमा माछाको परिकार अनिवार्य हुन्छ ।

विश्लेषक मनीष झाका अनुसार जनकपुरमा पोखरीको ताजा माछा उपलब्ध हुने र पकाउने शैलीका कारण पनि आगन्तुकहरू लोभिने गरेको बताउँछन् । ‘बिहान पोखरीबाट निकालेको ताजा माछा तावामा बनाउँदा मिठो हुन्छ । बासी माछा तेल र मसलामा पकाएर खाने गरेकाहरू यहाँको माछाको स्वादले पल्किन्छन्,’ उनले भने, ‘पोखरीको ताजा माछा स्वास्थ्यका दृष्टिले पनि राम्रो हुन्छ ।’ उनका अनुसार मासु खान नमिल्ने कोलेस्टोललगायत समस्या भएकाहरूले माछा खाने गरेका छन् ।

जनकपुरको कतिपय पोखरीमा धार्मिक आस्थाका कारण माछा मारिँदैन । पहिले सार्वजनिक पोखरीमा रैथाने माछा मात्रै पाइन्थ्यो । माछाका उपभोक्ता बढ्दै गएपछि व्यावसायिक रूपमा माछा उत्पादन गर्ने क्रम बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनुषाका प्रमुख युगलकिशोर तिवारी बताउँछन् । उनका अनुसार खरिद गर्न व्यापारी पोखरीमै पुग्ने गरेकाले माछापालनमा लागेकाहरू उत्साहित छन् ।

परियोजनाले मधेस प्रदेशमा माछा सुपर जोन सञ्चालन गरेर व्यावसायिक माछा पालनमा सहयोग गर्दै आएको छ । तिवारीका अनुसार बर्दिबास–काठमाडौं बीपी राजमार्गको हरेक होटलमा जनकपुरको माछा बिक्री हुने गर्छ । ‘यहाँका माछा काठमाडौंसम्मै पुग्छ,’ उनले भने ।

जनकपुरको माछा अनौपचारिक माध्यमबाट भारतसमेत पुग्ने गरेको छ । नेपाली माछाको स्वाद उत्कृष्ट हुने भन्दै सीमा क्षेत्रका भारतीयले किनेर लैजाने गरेका छन् । भारतीय माछा नेपाल आयात गर्न सरकारले प्रतिबन्ध लगाएको छ ।

जनकपुरमा रोह, भ्याकुर, बिगहेड, कमनकार्प र नैनी प्रजातिका माछाको माग बढी भएकाले तिनै जातको माछा बढी उत्पादन हुन्छ । जनकपुरको बसहियाबजार, सीताचोक (रेल्वे स्टेसन), पिडारी चोकलगायत पसलबाट दिनमा करिब ७ क्विन्टल माछा खुद्रा बिक्री हुने गरेको छ । यहाँ ५० भन्दा बढी होटलमा दिनमा २०/२५ किलोका दरले १० क्विन्टल हराहारी माछा खपत हुने गरेको व्यवसायीहरूको अनुमान छ । जनकपुरमा माछा खपतको आधिकारिक तथ्यांक भने कतै उपलब्ध छैन ।

प्रकाशित : वैशाख ७, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

'सूचना प्रविधिको पहुँच बढाउन मेहनत गर्नुपर्नेछ'

कान्तिपुर संवाददाता

काठमाडौँ — देशका सबै भूभागमा सूचना प्रविधिको गुणस्तरीय पहुँच पुर्‍याउन अझै मेहनत गर्नुपर्ने आवश्यकता रहेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । सूचना प्रविधि क्षेत्र सरकारको प्राथमिकतामा रहेको उनले बताए ।‘सूचना प्रविधिको पूर्वाधार विकास, सेवाको गुणस्तर, सुलभ सेवाको उपलब्धता र डिजिटल साक्षरतालाई सरकारले प्राथमिकतामा राखेको छ,’ मन्त्री कार्कीले भने, ‘यस क्षेत्रलाई रोजगारीको माध्यम बनाउने र विदेशी मुद्रा आर्जनको स्रोतका रूपमा विकास गर्न सरकार लागिपरेको छ ।’

बुधबार राष्ट्रिय सभा गृहमा क्यान इन्फोटेक २०२२ को उद्घाटनका क्रममा मन्त्री कार्कीले सूचना र प्रविधिलाई दूरदराजसम्म पुर्‍याउन र सबै क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढाउन सरकारले डिजिटल नेपालको अवधारणा अगाडि सारेको बताए । उक्त अवधारणा अनुरुप नै कतिपय सरकारी निकायले योजनाहरू अघि बढाइरहेको उनको भनाइ छ ।

सरकारले सूचना प्रविधिसम्बन्धी नीतिगत सुधारका कामलाई पनि अगाडि बढाइरहेको उनले बताए । कार्यक्रममा मन्त्री कार्कीले क्यान महोत्सवमा स्टार्ट–अप र इन्नोभेसनलाई विशेष स्थान दिएकोमा प्रशंसा गरे । १२ वैशाखसम्म चल्ने प्रदर्शनीमा कुल १२७ स्टल छन् । तिनमा ब्रान्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेसन, आईसीटी एक्सेसरिज तथा प्रोडक्ट लञ्चिङ र ई–गभर्नेन्स मुख्य खण्ड रहेको क्यानका महासचिव नारायण थापाले जानकारी दिए ।

प्रकाशित : वैशाख ७, २०७९ १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×