कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्जिन निकुञ्ज 

पर्सा राष्ट्रिय निकुञ्जकै बाटो भएर त्रिभुवन राजपथबाट प्रतिदिन ठूलो संख्यामा स्वदेशी र भारतीयले यात्रा गर्छन् तर यो ठाउँ उनीहरुको रोजाइमा पर्दैन
शंकर आचार्य

पर्सन — मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो– पर्सा राष्ट्रिय निकुञ्ज । पर्यटक आगमनका दृष्टिले यो अझै ‘भर्जिन’ नै छ । पर्यापर्यटनको प्रचुर सम्भावना रहे पनि छिमेकी चितवन राष्ट्रिय निकुञ्जको तुलनामा यहाँ पर्यटकको आगमन अत्यन्त न्यून छ । 

भर्जिन निकुञ्ज 

स्वदेशी मात्र नभई छिमेकी भारतका पर्यटकलाई आकर्षित गर्ने सम्भावना र अवसरको सदुपयोग हुन सकेको छैन । निकुञ्जकै बाटो भएर त्रिभुवन राजपथबाट प्रतिदिन ठूलो संख्यामा स्वदेशी र भारतीयले यात्रा गर्छन् । तर पर्सा राष्ट्रिय निकुञ्ज उनीहरूको रोजाइमा पर्दैन ।

पर्सा, बारा र मकवानपुरको केही भाग समेटेर ४ सय ९९ वर्ग किमि क्षेत्रफलमा फैलिएको पर्सा वन्यजन्तु आरक्ष २०४१ जेठ ८ मा स्थापना भएको हो । २०७२ भदौ ७ मा तत्कालीन आरक्षको पूर्वमा पर्ने बाराको १२८ दशमलव ३९ वर्ग किमि राष्ट्रिय वन थप गरी यसको क्षेत्रफल ६ सय २७ दशमलव ३९ वर्ग किमि पुगेको छ ।

२०७४ वैशाख २५ को मन्त्रिपरिषद्को निर्णयअनुसार तत्कालीन पर्सा वन्यजन्तु आरक्ष पर्सा राष्ट्रिय निकुञ्जमा परिणत भएको हो । निकुञ्जको पश्चिम सिमानामा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिण–पश्चिमको केही भाग भारतको वाल्मीकि टाइगर रिजर्भसँग अन्तरदेशीय सीमापार भू–परिधिमा जोडिएको छ ।

२०६२ असारमा पर्सा, मकवानपुर र बाराको तत्कालीन निर्मल बस्ती, सुवर्णपुर, जिराभवानी, सिमरा, अमलेखगन्ज, चुरियामाई, पदमपोखरी, हाँडीखोला, मनहरी गाउँ समेटी २ सय ८५ दशमलव ३० वर्ग किमि क्षेत्रफललाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज घोषणाको उद्देश्य ऐतिहासिक चारकोसे जंगलको प्रतिनिधित्व गर्ने वनसहितको तराई, भावर र चुरेको पारिस्थितिकीय प्रणालीको संरक्षणका साथै यस क्षेत्रमा रहेका रैथाने जंगली हात्तीको संरक्षण गर्नु रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साह निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साह बताउँछन् ।

निकुञ्ज संरक्षण तथा वृद्धिका लागि गरिएका विविध प्रयासका कारण पर्सा राष्ट्रिय निकुञ्जमा एक दशकमा बाघको संख्या झन्डै पाँच गुणा बढेको छ । सन् २००९/२०१० मा गरिएको गणनामा निकुञ्जमा केवल ४ वयस्क बाघ थिए । तर अहिले बाघको संख्या १९ पुगेको छ ।

यसै वर्ष गरिएको गणनाबाट निकुञ्जमा तीन वटा गैंडा रहेको पाइएको छ । निकुञ्जमा पाइने संरक्षित वन्यजन्तुमा पाटे बाघ, जंगली हात्ती, गैंडा, सालक, चौसिंगा, जंगली कुकुर, हुँडारलगायत हुन् । संरक्षित पन्छीमा राजधनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मयूर, सानो खर मयूर, सारस आदि हुन् । त्यसैगरी, संरक्षित सरीसृपमा अजिंगर, सुन गोहोरो छन् ।

करिब ९० प्रतिशत क्षेत्र सालको जंगलले ढाकेको निकुञ्जको चुरेको उच्च भागमा सल्लाका र खोला किनारामा खयर, सिसौका रूखसमेत पाइन्छन् । निकुञ्जमा ३ सय ३६ प्रजातिका वनस्पति पाइएकामा तीमध्ये ६० प्रकारका खान योग्य छन् । निकुञ्जमा ३७ प्रजातिका स्तनधारी, ४ सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।

जंगली हात्ती, पाटेबाघ, गैंडा, गौरीगाई, जंगली कुकुर, चितुवा, जरायो, नीलगाई, अजिंगर, किङकोब्रा, राजधनेश आदि महत्त्वपूर्ण जीवजन्तु पाइने निकुञ्जका अधिकारीहरू बताउँछन् ।

गत आर्थिक वर्षमा निकुञ्जले वन रोयल्टी, दण्ड जरिवाना तथा पर्यटन शुल्क आदि शीर्षकबाट गरी ७९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको जनाएको छ । यसमा पर्यटन शुल्कबाट १ लाख ५० हजार रुपैयाँ आम्दानी भएको थियो । चालु आर्थिक वर्षको फागुनसम्ममा ५६ लाख रुपैयाँ आम्दानी भएकामा पर्यटन शुल्कबाट मात्रै १ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ ।

ठोरी गाउँपालिका–३ मा पर्ने सिकारीबास गाउँ चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको सिमानामा पर्छ । यो बस्ती पुग्न वीरगन्ज–ठोरी हुलाकी सडकबाट करिब ७ किमि घना जंगल छिचोल्नुपर्छ । ५४ घरधुरीमा करिब २ सय ५० जना बस्छन् । तर स्थानीयले लगाउने धान, गहुँ, मकैजस्ता बाली पूरै भित्र्याउन पाउँदैनन् । आफूहरूले लगाएको बालीमध्ये ४० प्रतिशत बाली वन्यजन्तुले नष्ट गर्ने गरेको स्थानीय राजेन्द्र चौधरी बताउँछन् ।

होमस्टे र होटल आम्दानीका स्रोत

निकुञ्जको मध्यवर्ती क्षेत्र पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरका बासिन्दाले जिल्लाकै मात्र नभई प्रदेश २ कै पहिलो होमस्टे ८ वर्षदेखि सञ्चालन गरेका छन् । होमस्टेमा ६० वटा शय्या उपलब्ध भएकाले पाहुनाहरूको ठूलो समूह एकैसाथ बस्न सक्ने सुनाखरी मध्यवर्ती होमस्टे समितिका अध्यक्ष शम्भुराम पौडेलले जानकारी दिए । होमस्टेमा वीरगन्ज, पोखरा, हेटौंडा, काठमाडौं, चितवन क्षेत्रबाट पर्यटक आउने गरेका छन् । तेस्रो मुलुकका पर्यटकसमेत आउने गरेको उनको भनाइ छ ।

निकुञ्ज घोषणापछि अमलेखगन्जस्थित निकुञ्जको हात्तीसार क्षेत्रमा केही होटल तथा रिसोर्ट पनि सञ्चालनमा आएका छन् । सिमरास्थित तारे होटल इच्छाको शाखाका रूपमा अर्को रिसोर्ट यहाँ निर्माणाधीन छ । तीन–चार वर्षपछि अमलेखगन्जको हात्तीसार क्षेत्र होटल तथा पर्यटन हबका रूपमा विकास हुने सम्भावना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साह बताउँछन् ।

प्रकाशित : वैशाख ७, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?