कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उम्मेदवार नटुंगिँदा चुनावी गतिविधि सुस्त

प्रमुख पदमा आकांक्षी उम्मेदवार धेरै भएकाले टुंगो लगाउन ढिलाइ
लक्ष्मी साह

बारा — स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय नजिकिए पनि बाराका दुई उपमहानगरपालिका कलैया र जितपुर–सिमरामा चुनावको गतिविधि सुस्त देखिएको छ । जिल्लाका १६ स्थानीय तहमध्ये केहीमा चुनावी चहलपहल बढे पनि दुवै उम्मेदवारको टुंगो लगाउन ढिलाइ हुँदा उपमहानगरमा निर्वाचन केन्द्रित गतिविधि कमै देखिन्छन् ।

उम्मेदवार नटुंगिँदा चुनावी गतिविधि सुस्त

कुनै दलमा प्रमुख पदमा आकांक्षी उम्मेदवारहरू धेरै भएकाले टुंगो लागेको छैन भने पाँचदलीय सत्ता गठबन्धनबीच हुने भनिएको भागबन्डाको टुंगो लाग्न नसकेकाले चुनावको चहलपहल बढ्न नसकेको हो । ‘माथिको निर्णय कुरिरहेका छौं, कुन उपमहानगर कसको भागमा पर्छ भने यकिन छैन,’ कांग्रेस जिल्ला सभापति राजेश राय यादवले भने, ‘कसले पाउने निर्णय भएपछि सरगर्मी बढ्छ ।’

जनता समाजवादी पार्टीबाट कलैयाको प्रमुख पदका लागि दाबेदार रहेका प्रमोद गुप्ताले गठबन्धनबीचको अन्योलले चुनावी माहोल बन्न नसकेको बताए । दुवै उपमहानगरमा एमालेले समेत उम्मेदवार टुंगो लगाउन सकेको छैन, जसको कारण उनीहरूको पनि चुनावी गतिविधि अगाडि बढेको छैन । प्रमुख–उपप्रमुखमा आकांक्षी उम्मेदवार धेरै भएकाले टुंगो लगाउन नसकेको हो । ‘दुवै उपमहानगरमा आकांक्षी उम्मेदवार धेरै भएकाले छलफलकै क्रममै छौं,’ एमालेका जिल्ला सचिव अध्यानन्द पाण्डेले भने, ‘जिल्लाबाट टुंगो लाग्न नसकेकाले माथि सिफारिस गर्न सकिएको छैन ।’

एमालेको जितपुर–सिमरा उपमहानगर कमिटीले भने जिल्लालाई नगर प्रमुखमा १० जना र उपप्रमुखमा ६ जनाको नाम सिफारिस गरेको छ । प्रमुखमा मनोज पौडेल, उपप्रमुख सरस्वती चौधरी, कासिम हुसेन, नारायण क्षेत्री, भरत घले, अनिल मैनाली, महादेव चौधरी, प्रहलाद साह, राधेश्याम सिवाकोटी, विश्वनाथ लामिछानेको नाम सिफारिस गरिएको छ । त्यसैगरी उपप्रमुखमा नगर अध्यक्ष भोला अधिकारी, जिल्ला सदस्य रेणु रिमाल, अनिता चौधरी, अशोक लामा, कमला घिमिरे, सरिता चौधरीको नाम सिफारिस गरिएको छ । यसैगरी कलैयाका लागि भने तीन जनाको नाममा छलफल भइरहेको पार्टी स्रोतले बतायो । प्रमुख पदका लागि गत चुनावमा पनि प्रमुख पदका फ्रत्याशी रहेका विनोद साह, रजिन्द्र दास श्रेष्ठ र मेदनी महम्मदको नाममा छफल भइरहेको स्रोतले बतायो ।

गत निर्वाचनमा कलैया उपमहानगरमा प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेका हुन् । यहाँ प्रमुख राजेश राय यादव र उपप्रमुख रहिमा खातुन छन् । यो पालिकामा एमाले झिनो मतले पराजित भएको थियो । पाँचदलीय गठबन्धन नभए यसअघि जितेका दुवै प्रमुख र उपप्रमुख फेरि उठ्ने सम्भावना छ । जितपुर–सिमरामा यसअघिको चुनावमा एमालेबाट प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीले जितेका हुन् । यसपालि पौडेल दोहोरिने मनसायमा छैनन् । नगर कमिटीले पनि उनको नाम सिफारिस गरेको छैन । उपप्रमुख चौधरी भने प्रमुखका लागि नगर कमिटीबाट सिफारिसमा परेकी छन् ।

प्रकाशित : वैशाख ७, २०७९ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?