कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब तरकारी किन्न धान बेच्नु पर्दैन

अहिले राजाबासमा पानीको समस्या हटेपछि आफ्नै करेसामा तरकारी उब्जाउ
सुनीता बराल

महोत्तरी — धान बेचेर तरकारी किन्नुपर्ने महोत्तरीको बर्दिबास–३ राजाबासका स्थानीय अहिले आफैं तरकारी खेतीमा लागेका छन् । खानेपानीको समेत समस्या भोग्दै आएका स्थानीय वर्षायाममा अकाशे पानीको भरमा धान लगाउँथे । त्यही धान बेचेर तरकारीको जोहो गर्थे । 

अहिले पानीको समस्या हटेपछि उनीहरू आफ्नै करेसामा तरकारी उब्जाउ गर्छन् । राजाबासका ५९ वर्षका मानबहादुर भट्टराई पहिले दाल, साग तथा कुनै पनि हरियो तरकारी किन्नुपर्ने वा धान साट्नुपर्ने अवस्था सम्झन्छन् । स्थानीय सरकार र विभिन्न गैरसरकारी संघसंस्थाको पहलमा राजाबासमा पानीको सुविधा भएपछि धानसँग तरकारी साटेर खानुपर्ने बाध्यता टरेको भट्टराईले बताए । उनका अनुसार पहिले गाउँमा आएका व्यापारीसँग एक किलो तरकारी लिँदा ३ किलो धान दिर्ने गर्थे ।

सिँचाइको अभाव र खेती गर्ने तरिकाबारे जानकार नहुँदा राजाबासवासी प्रायजसोले तरकारी लिने र धान दिने चलन वर्षौंसम्म चलेको भट्टराईले बताए । राजाबासमा अहिले सामुदायिक विकास तथा पैरवी मञ्चले चुरेको मुहानको पानी सञ्चित गर्ने र सिँचाइ गर्ने व्यवस्था मिलाइदिएको छ । भट्टराईको घर वरपर अहिले त्यही सिँचाइको पानीले हरियाली छ । डेढ कट्ठा बारीमा पर्याप्त तरकारी फलाएका छन् । सुक्खा र पानीको अभावमा डढेलो लागेजस्तो देखिने गाउँका बस्ती अहिले हरियाली बनेका छन् । करेसाबारीमा लहलह तरकारी उत्पादन भइरहेको छ ।

भट्टराईजस्तै हरिमायाका दिन पनि फेरिएको छ । अकाशे पानीबाट धान उत्पादन हुने र त्यो पनि भनेजस्तो उत्पादन हुन नसक्दा हरिमायाले पनि कैयौं वर्षसम्म उस्तै समस्या भोगिन् । तरकारीको चरम अभाव र धान दिनुपर्ने नमीठो सम्झना उनीसँग छ । हरिमाया हिजोआज करेसाबारीमा रमाउँछिन् । अहिले उनको बारीमा सिमी, बोडी, साग, काउली फलेको छ । ‘आफ्नो जीवनकालमा यस्तो होला भन्ने मैले सोचेको पनि थिइनँ,’ हरिमायाले भनिन्, ‘सधैंभरि कसले तरकारी ल्याउला र धान साटौंला भन्दै बसिन्थ्यो । बुढेसकालमा भए पनि आफ्नै बारीमा तरकारी फलाएर खान पाइयो खुसी लागेको छ ।’

राजाबास बसेको ५० औं वर्षसम्म पनि स्थानीयले खानेपानीका लागि समेत खोलाखोल्सी चहार्दै हिँड्नुपरेको दुखेसो हरिमायाले गरिन् । तरकारी खोज्न चहार्दै हिँड्ने गाउँका किसान आफैंले उत्पादन गरेको तरकारी बढी उत्पादन भएमा बजारसम्म पुर्‍याउने बाटो खोजिरहेका छन् । बजार टाढा र बाटो सहज नभएकाले अहिलेसम्म करेसाबारीको तरकारी बजार नलगेको तर आम्दानीका लागि बजार लानेबारे सोचिरहेको हरिमायाले बताइन् । झन्डै २ सय घर बसोबास गर्ने राजाबासमा अहिले सिँचाइको पर्याप्त सुविधा छ ।

स्थानीय सरकार निर्वाचित भएपछि पनि यहाँको मुहार फेर्न निकै कसरत गरेको वडाध्यक्ष राजन ढुंगानाले बताए । राजाबासमा मात्र नगरपालिका, प्रदेश तथा संघीय बजेटबाट झन्डै ३ करोडको काम भएको छ । खानेपानीको समेत चरम अभाव रहेको यस ठाउँमा अहिले एक घर, एक धारा रहेको अध्यक्ष ढुंगानाले बताए । राजाबासको उत्पादनलाई बर्दिबास बजार पुर्‍याउन राजाबास हुँदै पाटु जाने फास्ट ट्र्याक खोलिएको छ । यसले गर्दा कृषि उपजलाई बजारसम्म लैजान सहज भएको स्थानीय बासिन्दा बताउँछन् ।

प्रकाशित : चैत्र २०, २०७८ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?