कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खानेपानीलाई सधैं आश्वासन

‘चुनावका बेला खानेपानीको व्यवस्था गर्छौं भनेर जान्छन्, जितेपछि वास्ता गर्दैनन्’
शिव पुरी

रौतहट — ३४ वर्षदेखि कुवाको पानी खाइरहेका चन्द्रपुर ६ लमाहाका स्थानीयले यस पटकको चुनावमा उम्मेदवारसँग उधारो आश्वासन नलिने मन बनाएको छ । पटक/पटकको चुनावमा आश्वासन मात्र बाँड्ने र काम नगर्ने प्रवृत्ति दोहोरिन्छ भन्दै उधारो आश्वासन नमान्नेमा बस्तीका एकमत छन् । बस्तीलाई स्वच्छ खानेपानीको व्यवस्था होस् भन्ने उनीहरूको एक मात्र माग छ । 

खानेपानीलाई सधैं आश्वासन

चन्द्रनिगाहपुर चोकबाट झन्डै ७ किलोमिटर पश्चिम, पूर्वपश्चिम राजमार्गस्थित लमाह जंगल बीचमा झुपडी नै झुपडीको गुजमुज सानो बस्ती छ । बस्तीका स्थानीयले ३४ वर्षदेखि खोला र कुवाको पानी पिउन बाध्य छन् । चुनावका बेला बस्तीमा खानेपानी एजेन्डा बन्छ । वैशाखमा हुन लागेको स्थानीय तहको चुनावमा मत माग्न आउने जुनसुकै पार्टीका उम्मेदवारले आश्वासन दिए भने नमान्ने बस्तीका सूर्यबहादुर वाइबाले बताए । ‘चुनावका बेला खानेपानीको व्यवस्था गर्छौं भनेर जान्छन् । जितेपछि वास्ता गर्दैनन्,’ उनले भने, ‘हुँदैन भने हुँदैन भन्नुपर्छ । चाँडै खानेपानीको समस्या समाधान गर्छौं भनेर मक्ख पारेर जाने अनि पछि वास्ता नगर्ने । अब उनीहरूलाई सबक सिकाउँछौं ।’

लमाहाका स्थानीयलाई लामो समयदेखि खानेपानीको समस्या छ । यहाँ एउटा पनि धारा छैन । उनीहरू लामाहा खोलाको पानी पिउन बाध्य छन् । हिउँदमा कुवा बनाउँछन् । वर्षाका बेला कुवा भत्किएपछि खोलाको पानी पिउनुपर्ने बाध्यता छ । उम्मेदवारहरू चुनावका बेला बस्ती पुगेर आश्वासन मात्र दिने गरेको स्थानीयको गुनासो छ । मधेस प्रदेशका कांग्रेस सांसद धनलाल ठोकरले बस्तीमा चापाकल राख्ने प्रयास गरेको तर सफल हुन नसकेको बताए ।

संसदीय र स्थानीय तह निर्वाचनमा गरेको वाचा र आश्वासन अहिलेसम्म दलले पूरा नगरेको स्थानीयको गुनासो छ । २०४४ मा मकवानपुरको डाङडुंगे गाउँबाट बस्ती हटाइएपछि वाइबाको परिवार यही जंगलमा झुपडी बनाएर बसे । बस्तीमा १४ घरधुरी छन् । ती सबै सुकुम्बासी हुन् । यहाँ बिजुली र खानेपानीको सुविधा नै छैन । भूमिगत पानीको व्यवस्था नभएकाले स्थानीयले नदीछेउमा खाडल बनाएर निस्कने धमिलो पानी पिउन बाध्य छ । यस्तो खाडललाई उनीहरू कुवा भन्छन् ।

खोलाको किनार र ढिस्को छेउमा स्थानीयले आधा दर्जन स्थानमा खाडल (कुवा) बनाएका छन् । वर्षाका बेला बाढीले कुवा भत्काएपछि समस्या हुन्छ । नगरपालिकाले पनि अहिलेसम्म कुनै पहल गरेको छैन । जंगलको बस्ती भएकाले नगरपालिकाले बेवास्ता गरेको हो । माओवादीका नेता युवराज भट्टराईले लमाह क्षेत्रमा चापाकल राख्नलाई पानीको स्रोत नै नभएकाले समस्या भइरहेको सुनाए । ‘जंगलमा विद्युत्को समस्या छ । धारा गाँड्न जंगलमा पानी आउँदैन,’ उनले भने, ‘खानेपानीको समस्या समाधान गरौं भन्ने सोच हो । तर, त्यस क्षेत्रमा उपाय नै छैन ।’ बस्तीका स्थानीयले खानेपानी माग गर्दै आएका छन् ।

लमाहा, भोलनटार, इपिलीघारी र अरुणबस्तीजस्ता विकट बस्तीमा खानेपानी, विद्युत्, स्वास्थ्य चौकी, विद्यालयको अभाव छ । नगरपालिका भएर पनि यी बस्तीको हालत गएगुज्रेको छ । बस्तीका स्थानीय आधारभूत आवश्यक्ताबाट वञ्चित छन् । स्थानीयले धेरै चुनावहरू देखे । थुप्रै दलका नेता भोट भाग्न आए । स्थानीयले यही मौका छोपेर बत्ति र पानीको माग गर्थे । उम्मेदवारहरू हुन्छ भनेर जान्थे । भोलनटार क्षेत्रमा खभैरै मात्र विद्युत् पुगेको छ । नगरप्रमुख रामचन्द्र चौधरीले जंगल क्षेत्र भएकाले समस्या समाधान गर्न सहज नभएको बताए । ‘बस्तीलाई कतै सारौं भन्ने सोच बनाएका पनि हौं,’ उनले भने, ‘जग्गा अभाव र विभिन्न कारणले त्यसो गर्न सकिएन र लामाहाका जनताको समस्या उस्तै रह्यो ।’

प्रकाशित : चैत्र २०, २०७८ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×