२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

मलबिनै चैते धान रोपाइँ

पर्सा — चैते धान रोप्ने बेलामा पर्साका किसानले मलको अभाव भएको बताएका छन् । एक सातादेखि जिल्लामा चैते धानको रोपाइँ सुरु भइसकेको छ । तर किसानले मलबिनै रोपाइँ गर्न थालेका छन् । 

किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साह कानुले जिल्लामा हाल युरिया, डीएपी र पोटास गरी तीनैखाले मलको अभाव रहेको बताए । ‘एक सातादेखि किसानले रोपाइँ थालेका छन्,’ उनले भने, ‘तर युरिया, डीएपी र पोटास तीनवटै मल किसानले पाएका छैनन् ।’ किसानले चैत मसान्तसम्म रोपाइँ सक्ने र यस अवधिमा पनि मल नपाइए चैते धानको उत्पादन नै प्रभावित हुने कानु बताउँछन् ।

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका निमित्त प्रमुख सीताराम श्रेष्ठले कार्यालयमा डेढ महिनाअघि नै युरिया मलको मौज्दात सकिएको बताए । तत्काललाई युरिया मल आयातको कुनै तालिका नरहेको उनले जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि मन्त्रालय र कृषि सामग्री कम्पनीका प्रतिनिधि पनि गएकाले भारतसँग जी टू जीबाट ल्याउने युरिया मलको सम्बन्धमा सम्झौता प्रक्रिया सम्पन्न भई मल आउने बाटो खुल्ने सम्भावना रहेको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार कार्यालयसँग १ लाख ६० हजार बोरा डीएपी मल मौज्दात रहे पनि वितरण गर्न सकिएको छैन । संघीय कृषि मन्त्रालयले प्रत्येक प्रदेशका कृषि मन्त्रालयलाई मलको कोटा निर्धारण गरेको छ । हाल मधेस प्रदेशका सिरहा र सप्तरीबाहेकका ६ जिल्लालाई ३ हजार ८ सय ५३ दशमलव ४ मेट्रिक टन कोटा तोकिएको छ । तर, कोटाअनुरूप डीएपी मल वितरण गर्न नसकिएको उनले बताए । पोटास मल भने रुसबाट आउनुपर्नेमा रुस–युक्रेन युद्धका कारण प्रभावित भएको र कहिले आउने भन्ने टुंगो नलागेको श्रेष्ठले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र पर्साका अधिकृत श्यामकिशोर प्रसादले पर्सामा करिब ८ हजार हेक्टरमा चैते धानको खेती हुने बताए । उनका अनुसार विशेष गरी सिँचाइको सुविधा भएको जिल्लाको उत्तर पश्चिमी थरुवान भेगमा बढी खेती हुने गरेको छ । किसानले समयमा मल नपाए चैते धानको उत्पादन घट्न सक्ने उनले बताए ।

प्रकाशित : चैत्र २०, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?