कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घुम्ती पसलमा पेट्रोल बिक्री

शिव पुरी

रौतहट — रौतहटमा पूर्वपश्चिम राजमार्गबाट दक्षिण लागेपछि भित्री गाउँका घुम्ती र पान पसलमा बोतलमा पेट्रोल राखेर छ्यापछ्याप्ती बिक्री गरिरहेको पाइन्छ । सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिने प्रज्वलनशील पदार्थ खुलेआम बोतलमा राखेर बिक्री गर्दा पनि नियमन हुन सकेको छैन ।

घुम्ती पसलमा पेट्रोल बिक्री

नेपाल आयल निगमबाट स्वीकृत लिएर खोलिएका पेट्रोल पम्पले मात्र बिक्री गर्न पाउने भए पनि ससाना पसलमा खुलेआम पेट्रोल बेच्ने गरेको पाइएको हो । नाकाबन्दीताका यसरी पान, किराना, साइकल र घुम्ती पसलमा लुकाएर झन्डै दोब्बर मूल्यमा पेट्रोल र डिजेल बेच्ने गरिन्थ्यो । त्यसै बेलादेखिको चलन अझै जारी छ । सदरमुकाम गौर जाने राजमार्गका पान पसलमा बाहिर देख्ने गरी खुलेआम बोतलमा पेट्रोल राख्ने गरिन्छ । पम्पहरूमा प्रतिलिटर १ सय ५५ रुपैयाँ लिटर पाइने पेट्रोल पान पसलेले २ सयदेखि २ सय ५० रुपैयाँसम्ममा बिक्री गर्छन् । यसरी राखिएका पेट्रोलमा मट्टीतेल मिसाइएको पाइएको छ । बाल्चनपुर, जंगलसैया खण्डमा पर्ने साना घुम्ती पसलहरूमा बोतलमा पेट्रोल राख्ने धेरै छन् ।

जंगलसैयाका घुम्ती पसले सरोजकुमार साहले नजिक पम्प नभएकाले ग्राहकको सुविधाका लागि बोतलमा पेट्रोल राखेको बताए । ‘ठुला ड्रममा राख्न स्वीकृत छैन । पैसा पनि धेरै लाग्छ । बोतलमा राखेर भए पनि सेवा दिएको छु,’ उनले भने, ‘कतिपय मानिसहरू मोटरसाइकलमा पेट्रोल सकेर गुँडाउँदै गरेका हुन्छन् । तिनीहरूलाई बोतलमा भए पनि राहत हुन्छ ।’ चन्द्रपुर ४ स्थित देव आयलका सञ्चालक देवेन्द्र चौधरीले बोतलमा आफ्नै प्रायोजनका लागि भरेर लैजाने र पछि पसलमा बोतल झुन्ड्याएर बेच्न थालेको बताए । ‘पान पसले साना घुम्ती पसलेहरूले जथाभावी पेट्रोल बिक्री गरेको देख्दा अचम्ममा परेको छु,’ उनले भने, ‘सम्बन्धित निकायले अनुगमन गरेर यस्ता कार्य बन्द गर्नुपर्छ ।’

निगमबाट प्रक्रिया पुर्‍याएर अनुमति पत्र लिएर मात्र पेट्रोलियम पदार्थ बिक्री गर्न पाइने पेट्रोल डिलर एसोसिएसन रौतहटका कोषाध्यक्ष शम्भुप्रसाद जैसवालले बताए । ‘जथाभावी घुम्तीमा र पान पसलमा पेट्रोल राख्न पाइँदैन । यो नियमविपरीत हो,’ उनले भने, ‘प्रशासनले अनुगमन गरेर नियन्त्रणमा लिनुपर्ने हो । जहाँ पम्प छैन । त्यहाँ राखेका होलान् । तर पनि यो अत्यन्तै जोखिमपूर्ण हुन्छ ।’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पवल कायस्थले भित्री गाउँहरूका साना पसलमा नियमविपरीत बोतलमा पेट्रोल राख्ने गरेको बताए । ‘अनुगमनका क्रममा फेला पर्‍यो भने तत्कालै नियन्त्रणमा लिन्छौं,’ उनले भने ।

प्रकाशित : चैत्र १४, २०७८ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?