कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौतहटमा जिपको ठक्करबाट दुई जनाको मृत्यु

स्थानीयद्वारा राजमार्ग अवरुद्ध
शिव पुरी

रौतहट — गौर–चन्द्रनिगाहपुर खण्डको हर्साहा चोकमा बुधबार राति जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको ज्यान गएको छ । दुर्घटनामा प्रहरीका असई र जवानसमेत घाइते छन् ।

रौतहटमा जिपको ठक्करबाट दुई जनाको मृत्यु

घटनापछि मृतकका आफन्त र स्थानीय बासिन्दाले बिहीबार बिहानदेखि सदरमुकाम जाने राजमार्ग बन्द गरेका छन् । दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् ।

चन्द्रनिगाहपुरबाट दक्षिणतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको जिपले बुधबार राति साढे ८ बजेतिर हर्साहा चोकमा ठक्कर दिँदा वृन्दावन नगरपालिका–६, का ३५ वर्षीय जितेन्द्र पटेल र २८ वर्षीय हरिकुमार ठाकुरको मृत्यु भएको इलाका प्रहरी गरुडाका डीएसपी श्रीराम भण्डारीले बताए । ‘घटनाबारे अनुसन्धान भइरहेको छ । पीडितका आफन्त र स्थानीयले राजमार्गमा टायर बालेर अवरोध गरिरहेका छन्,‘उनले भने, ‘अहिले त्यस क्षेत्रमा केही तनाव छ ।

पीडितसँगको छलफलबाट समस्या समाधान गर्ने पहल भइरहेको छ ।’ गाडीको ठक्करबाट गम्भीर घाइते ठाकुरको उपचारका क्रममा स्थानीय अस्पताल र पटेलको उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक दुवै मोटरसाइकलमा सवार थिए । इलाका प्रहरी गरुडाका अनुुसार उनीहरु दुवै जना पान पसलतर्फ गइरहेका बेला जिपले ठक्कर दिएको हो । त्यसपछि अनियन्त्रित भएको जिपले प्रहरी चौकी हर्साहाका असई उपेन्द्रकुमार यादव र जवान मुस्तफा अन्सारीलाई समेत ठक्कर दिएको थियो । असई यादव समान्य घाइते छन् भने जवान मुस्तफाको खुट्टा भाँचिएको छ ।

घटनालगत्तै प्रहरीले मौलापुर नगरपालिकाका संजय पाण्डे र कुन्दन पाण्डेलाई पक्राउ गरेको छ । स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गर्न थालेपछि त्यस क्षेत्र आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : चैत्र ३, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?