कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुसहरलाई बासकै सकस

ऐलानीमा बनेको घर पनि बाटो विस्तारले भत्किने चिन्ता
भरत जर्घा मगर

सिरहा — सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ स्थित मुसहर बस्तीका ५५ वर्षीय देबुवा सदायको १२ जनाको परिवार दुई धुर ऐलानी जग्गामा बनाएको फुसको घरमा बस्छन् । झुपडीमा बाँसले बेरेर २ वटा साना कोठा बनाइएको छ ।

मुसहरलाई बासकै सकस

एउटा कोठामा जेठो छोरा गजेन्द्र पत्नी, छोराछोरीसहित ४ जना बस्छन् । अर्को कोठामा कान्छो छोरा रवीन्द्रसहित चारजना कोचिएर रात बिताउँछन् । पिढीमा खाना पकाउँछन । खाना पकाइसकेपछि त्यही पिढीमा ५५ वर्षीय देबुवा र पत्नी मञ्जु सुत्छन् ।

कृषि मजदुरी गरी गुजारा चलाउँदै आएको देबुवाको परिवार दिनभरी मजदुरीमा खटिएपनि रात बिताउन भने सकस हुन्छ । ठाउँ अभावमा झुपडीमा कोच्चिएर सुत्न बाध्य छन् । ‘पाहुना आउँदा सबै जना पीढिमा लस्करै सुत्छौं,’ देबुवा भन्छन्, ‘दुई वटा छोरीसहित ज्वाई, नाति नातिनी आउँदा रात पालो गरेर काट्नु पर्छ ।’ मजदुरीको कमाईले खान लाउन नै धौ धौ हुने भएकाले जग्गा किन्न नसकेको उनको भनाइ छ । देबुवा दम्पतिलाई त्यही भएको ऐलानी २ धुर जग्गा पनि बाटो फराकिलो बनाउँन खोजेपछि उठीबास हुने पिरलो छ । ‘गाउँमा वडाले बाटो बिस्तार गर्ने भनेको छ,’ उनले भने, ‘बाटो बढ्यो भने हाम्रो उठीबास नै हुन्छ ।’

बस्तीमा १५ घर छन् । सबैको समस्या देबुवाको जस्तै छ । बस्तीकै बेचन सदाय मुसहरको ९ जनाको परिवार डेढ धुर जग्गामा बनाएको फुसको घरमा बस्छन् । बेचनलाई पनि रात परेपछि सुत्न सकस झेल्नुपर्छ । अर्को तर्फ बाटो बिस्तार गर्दा उठिबास हुने पिरलो छ । बस्तीका अधिकांश ऐलानी १–२ धुर जग्गामा घर बनाएर बसेका छन् । सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित तिलैयामा सडक छेउको ऐलानी जग्गामा १५ घर मुसहर बस्ती छ ।

अधिकांशले १ देखि २ धुर जग्गामा घर बनाएर बसेका छन् । एउटा परिवारमा १७ जनासम्म फुसको घरमा कोच्चिएर बस्छन् । वस्तीका कबुतरी सदाय मुसहर भन्छिन् ‘नौ जनाको परिवार डेढ धुर जग्गामा बनाएको फुसको घरमा बस्नु परेको छ ।’ त्यही जग्गापनि सडक फराकिलो पार्दा उठिबास हुने पिरलो छ । ‘सडक बिस्तार भयो भने हामी जस्ता निमुखा कहाँ जाने’ उनले भनिन् ।

सखुवानन्कारकट्टी र बरियारपट्टी जस्तै जिल्लामा बसोबास गर्दै आएका भूमिहीन कृषि मजदुरहरूलाई ‘थातथलो’ मुख्य समस्या बनेको छ । मुसहर संघ सिरहाका अनुसार भूमिहीन मुसहर समुदायका व्यक्तिहरू हरूवा, चरुवा र अरुको घरमा काम गरेर जीविकोपार्जन गर्छन् । उनीहरूको नाममा जग्गा जमीन छैन् । जग्गाको स्वामित्व नहुदा उनीहरू स्थानीय तहको सेवा सुविधाबाट समेत बञ्चित छन् ।

‘सिरहाका अधिकांश मुसहर बस्तीमा तीन पुस्ताभन्दा बढी भईसक्यो तर बसोवास गरेको जग्गा उनीहरूको स्वामित्वमा छैन’ दलित अधिकारकर्मी उमेश बिसुन्के भन्छन्, ‘पुस्तौंदेखि बस्दै आएको जग्गा गाउँ ब्लकमा रहेपनि नापी हुन सकेको छैन, जग्गाको स्वामित्व नहुँदा ती बस्ती उठिबासमा पर्ने चिन्ता छ, यसका लागि पालिकासँग पहल गरिरहेका छौं ।’

प्रकाशित : चैत्र १, २०७८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?