कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजपुरका तत्कालीन गाविस सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भरत जर्घामगर

सिरहा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको साबिक राजपुर गाउँ विकास समितिका तत्कालीन सचिव केशव घिमिरेसहित तीन जनामाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । घिमिरेले सामाजिक सुरक्षा भत्ता, आन्तरिक आय बैंक दाखिला गर्नुपर्ने रकम, सिलाइकटाइ तालिमका लागि लिएको पेस्की, दलित दलान निर्माणमा बिलभन्दा बढी भुक्तानी लगायतमा घटाला गरेको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो ।

राजपुरका तत्कालीन गाविस सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन गाविससचिव केशव घिमिरेले आर्थिक वर्ष ०६९/०७० र ०७०/०७१ को आन्तरिक आयतर्फ गाविसमा आम्दानी भएको विभिन्न शीर्षकको रकम हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।

उक्त मुद्दामा जिल्ला विकास समितिका तत्कालीन सामाजिक विकास अधिकृत अरुण साह र अर्नमा प्ररा गाविसको खाता संचालक शिवजी कामती पनि छन् ।

घिमिरे र गाविसका तत्कालीन खाता संचालक सामाजिक विकास अधिकृत साहलाई २४ लाख ९२ हजार ५ सय १० रुपैयाँ बिगो दाबी गरिएको छ । त्यस्तै उनले अन्य सामग्री खरिद समेतमा २ लाख ६७ हजार २६ रुपैयाँ झुठा बिल पेश गरी भुक्तानी लिनेदिने गरेको ठहर आयोगले गरेको छ ।

गाविसका तत्कालीन खाता संचालक सामाजिक विकास अधिकृत साहले दलित दलान र विद्युत् पोल खरिदमा भएको ६० हजार ३ सय २३ रुपैयाँ हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

यसैगरी अर्नमा प्ररा गाविसका खाता संचालक शिवजी कामती (हाल अधिकृत छैठौं, सिअहेव कल्याणपुर नगरपालिका सिरहा) ले शीर्षक नखुलेको, स्टेसनरी, कार्यालय संचालन, विकास निर्माण रकम गरी २ लाख ८१ हजार २ रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले सजाय माग दाबी गरिएको हो ।

प्रकाशित : फाल्गुन २९, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?