२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मत गणनाका लागि विद्यालय बन्द

ओमप्रकाश ठाकुर

सर्लाही — नेपाली कांग्रेसको जिल्ला निर्वाचनका लागि सर्लाही सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालय बन्द गरिएको छ । नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनको नेतृत्व चयनका लागि मतदान तथा मत गणनाका लागि विद्यालय बन्द गरिएको हो । विद्यालय बन्द हुँदा विद्यार्थीहरू पठनपाठनबाट वञ्चित भएका छन् । मत गणनाको कार्यक्रम चलिरहेकाले विद्यालय कहिले खुल्ने भन्नेबारे अझै अन्योल छ । विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदा समेत सम्बन्धित निकायको ध्यान  त्यसतर्फ पुग्न सकेको छैन । 

मत गणनाका लागि विद्यालय बन्द

शुक्रबार पढाइ सकेर घर फर्किएका विद्यार्थी तथा शिक्षकहरूलाई आइतबार बिहान विद्यालय पुग्दा सुरक्षाकर्मीले रोकेका थिए । मत गणना चलिरहेकाले भित्र जान नदिएपछि शिक्षक र विद्यार्थी घर फर्किएको प्रधानाध्यापक सुभाष यादवले बताए । उनले विद्यालय प्रशासनले बिदा नदिए पनि विद्यालय बन्द भएको गुनासो गरे । प्रधानाध्यापक यादवले कोरोनाकालमा प्रभावित भएको पढाइ अघि बढिरहेको समयमै विद्यालय बन्द हुँदा विद्यार्थी मारमा परेको गुनासो पोखे ।

यसअघि पनि विद्यालयमा अपर्झट बिदा हुँदै आएको उनले बताए । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा ९ सय विद्यार्थी अध्ययनरत छन् । उनीहरूको भविष्यमाथि खेलवाड भइरहेको प्रधानाध्यापक यादवले बताए । ‘शनिबार विद्यालयमा पार्टीको चुनाव छ भनेर जानकारी थियो तर मत गणना पनि त्यह‍िँ हुन्छ भनेर थाहा थिएन; त्यसैले हामी शिक्षक र विद्यार्थी आइतबार विद्यालय पुगेका थियौं तर सुरक्षाकर्मीले हामीलाई भित्र जान दिएन,’ उनले भने, ‘विद्यालय बन्द भएको कुरा हाम्रो विद्यालय प्रशासनलाई छैन ।’

मत गणनाका लागि प्रदेशका महिला तथा बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंह आफैँ उपस्थित छन् । त्यतिमात्र होइन‚ नेपाली कांग्रेसका दुवै पक्षका नेतासमेत विद्यालयमै अड्डा जमाएर बसेका छन् । विद्यालयबाहिर दुवै पक्षका कार्यकर्ताहरू उपस्थित छन् । आइतबार साँझसम्म ७ पदाधिकारीको मत आउने सम्भावना छ । अन्य ८६ जिल्ला कार्यसमितिको मत गणना अझै भएको छैन । पदाधिकारीको मत परिणाम आएपछि उनीहरूको मत गणना गर्ने तयारी छ । उनीहरूको मत गणना गर्न कम्तीमा पाँच दिन लाग्ने अनुमान गरिएको छ ।

निर्वाचन समितिका संयोजक नागेश्वर सिंहले एक-दुई दिनमै मत गणना सकिने भएकाले मलंगवा नगरपालिकाका मेयर निर्षल साहको मञ्जुरीमा विद्यालयमै गणना गरेको जानकारी दिए । उनले मतपेटिका बाहिर लैजान समस्या भएकाले विद्यालयमै गणनाको कार्यक्रम राखिएको उनले जानकारी दिए । ‘पटक पटक निर्वाचन हुने होइन; एक-दुई दिनको कुरो हो भनेर मेयरसाबले भन्नुभयो । हामीलाई पनि मत पेटिका बाहिर लान समस्या हुने भएपछि विद्यालय हातामै गणनाको कार्यक्रम संचालन भइरहेको छ,’ उनले भने, ‘बाहिर लान दुवै पक्ष सहमत थिएन ।’

मलंगवा नगरपालिकाका मेयर साहले विद्यालयमा एक-दुई दिन बिदा दिएर विद्यार्थीहरूको भविष्यमाथि खेलवाड नहुने दाबी गरे । उनले कोरोनाकालमा महिनौँ दिन विद्यालय बन्द हुँदा केही नहुने तर पार्टीको कामका लागि एक-दुई दिन विद्यालय बन्द हुँदा त्यसले कसरी प्रभाव पार्नसक्छ भनेर प्रतिप्रश्न गरे । ‘विद्यालय एक-दुई दिन बिदा गरेर विद्यार्थीहरूलाई कुनै प्रभाव पर्दैन,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘कोरोनाकालमा महिनौंदिन विद्यालय बन्द हुँदा केही पनि नहुने ? तर‚ एक-दुई दिनको बन्दले के प्रभाव पर्छ ?’ मेयर साहले सोमबारसम्म मत गणनाको काम सकेर मंगलबारबाट विद्यालय पुनः सुचारु हुने बताए ।

यता शिक्षासेवीहरूले विद्यालय नै बन्द गरेर राजनीतिक कार्यक्रम भइरहेकोमा आपत्ति जनाए । उनीहरूले विद्यार्थीहरूको भविष्यमाथि राजनीतिक दल बाधक बनेको आरोप लगाए । शैक्षिक सत्र अन्त्य हुने बेला भएको विद्यालय बन्दले विद्यार्थीहरूको पढाइमा असर पुग्ने मानवअधिकारवादी तथा पूर्वप्रधानाध्यापकसमेत रहेका शिक्षासेवी रजनीकान्त झाले बताए । ‘राजनीतिक दलले नीति बनाउने र त्यसको पालना गर्ने हो तर उनीहरूले नै उल्लंघन गरिरहेका छन्,’ उनले भने, ‘विद्यार्थीहरूको अधिकार कुण्ठित पार्ने काम भएको छ । लोकतन्त्र राजनीतिक दललाई मात्र आएको होइन, विद्यार्थीहरूको पढ्ने अधिकार खोस्न पाइँदैन ।’

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले विद्यालय बन्द गरेर मत गणना नगर्न गरिएको आग्रह पार्टीका दुवै पक्षले नमानेको जानकारी दिए । कांग्रेसका दुवै पक्षका नेताहरूले विद्यालयलाई नै सुरक्षित मानेपछि स्थानीय प्रशासनले विद्यालयमा सुरक्षा उपलब्ध गराएको गौतमको भनाइ छ । ‘मत गणना विद्यालय नजिकैको कभर्ड हलमा गर्न मैले प्रस्ताव गरेँ तर दुवै पक्षले मानेनन्,’ प्रजिअ गौतमले भने, ‘मैले जबर्जस्ती गरेँ भने प्रजिअले जबर्जस्ती गरेको आरोप लाग्न सक्थ्यो ।’

प्रकाशित : फाल्गुन २९, २०७८ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?