१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

कांग्रेस सप्तरी अधिवेशन : सभापतिबाहेक पदाधिकारीमा संस्थापन पक्षको ‘क्लीन स्वीप’

अवधेशकुमार झा

राजविराज — नेपाली कांग्रेस सप्तरीको सभापतिबाहेकको पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् । सभापति पदमा संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै शेखर कोइराला समूहका रामदेव साह निर्वाचित भएका थिए ।

कांग्रेस सप्तरी अधिवेशन : सभापतिबाहेक पदाधिकारीमा संस्थापन पक्षको ‘क्लीन स्वीप’

सभापतिको पदको मतगणनापश्चात् शुक्रबार बिहानबाट पदाधिकारी पदको गणना सुरु गरिएको थियो । शनिबार दिउँसो समपन्न भएको पदाधिकारी गणनाको मत परिणामअनुसार उपसभापति, सचिव र सहसचिव पदमा सबै संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।

सभापतिमा संस्थापन पक्षका उम्मेदवार फत्तेमहम्दले १ हजार ६९ तथा रामप्रसाद मण्डलले १ हजार ५९ मत ल्याई विजयी भएका छन् । उपसभापति पदमा संस्थापनइतर समूहका उम्मेदवार रामकुमार यादवले १ हजार ५३ र ध्रुवनारायण चौधरीले ९ सय ५४ मत प्राप्त गरे ।

यसैगरी सचिवमा संस्थापन पक्षका प्रभुनारायण चौधरीले १ हजार १ सय ८२ र सनत मण्डलले १ हजार ७५ मत प्राप्त गरी विजयी भए । सचिव पदमा उम्मेदवार रहेका नन्द्यकिशोर यादवले १ हजार २७ र दुर्गानन्द यादवले ७ सय ४५ मत प्राप्त गरे ।

यस्तै सहसचिव पदमा पनि संस्थापन पक्षकै दुवै उम्मेदवार विजयी भए । सहसचिव पदका उम्मेदवार घनश्याम साहले १ हजार २ सय ६५ र मनोज खड्काले १ हजार ८६ मत प्राप्त गरी विजयी भए । संस्थापनइतर समूहबाट सहसचिव पदमा उम्मेदवार रहेका रामसुन्दर मण्डलले ८ सय ४५ र मो. मुस्लिमले ७ सय ५० मत प्राप्त गरे ।

पटक-पटक स्थगित हुँदै आएको कांग्रेस सप्तरीको निर्वाचन मंगलबार भएको थियो । कुल २ हजार ५ सय ३५ मतदाता रहेकोमा २ हजार ३ सय ४२ जनाले मतदान गरेका थिए ।

बिहीबार बिहानबाटै मतगणना सुरु भएको हो । सभापति र पदाधिकारी पदको गणना सकिएपछि अब सदस्य र महासमिति सदस्य पदको मतगणना गर्ने तयारी गरिएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?