कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

हिंसामा परेका महिला राख्न सेफ हाउस

कान्तिपुर संवाददाता

रौतहट — हिंसामा परेका महिलालाई सुरक्षित बासस्थानका लागि मेची महाकाली बुहारी संयुक्त आवाजले महिला सेफ हाउस सञ्चालनमा ल्याएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ मा हाउस स्थापना गरिएको हो ।

हिंसामा परेका महिला राख्न सेफ हाउस

संयुक्त आवाज मधेस प्रदेशकी संयोजक पूजा पाठक तिमल्सिनाले हिंसामा परेका महिलालाई न्यायका लागि बासस्थानको समस्या हुने गरेकाले सेफ हाउस सञ्चालन गरिएको बताइन् । ‘तत्कालका लागि घर भाडामा लिएर सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘विगतमा आफन्त वा अन्य अज्ञात स्थलमा पीडितलाई राख्नुपर्ने बाध्यता थियो ।

अब सेफ हाउसमा सुरक्षित राख्न सकिने भयो ।’ सेफहाउस नहुँदा पीडितलाई गरुडामा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र वा बाराको निजगढ र सर्लाहीको हरिवन लग्नुपर्ने बाध्यता थियो । पीडितलाई सेफ हाउसमा बस्न, खान, काउन्सलिङलगायत विभिन्न सुविधा दिइने संयोजक तिमल्सिनाले सुनाइन् । संस्थाले केही वर्षदेखि हिंसामा परेका पीडित महिलाको पक्षमा वकालत गर्दै आएको छ ।

पछिल्लो समय जिल्लामा महिलाविरुद्धको हिंसाका घटना बढ्दै गएको पाइएको छ । सेवा केन्द्रका अनुसार श्रीमान्ले खान लाउन नदिएको, सासूससुराबाट कुटपिट, घर निकाला, दाइजो र सम्बन्धविच्छेदजस्ता घटनाहरू बढ्न थालेका छन् । महिला अधिकारकर्मी देवकी नेपालले हिंसा बढ्नुमा समाज नै दोषी भएको बताइन् ।

‘कुनै पनि हिंसाका घटनामा हामी पीडकलाई जोगाउन खोज्छौं । कानुनी कारबाहीमा बाधा पुर्‍याउँछौं,’ उनले भनिन्, ‘यस्तो प्रवृत्तिले पीडकलाई बल पुग्छ । हिंसा न्यून हुनुको साटो बढ्दै जान्छ ।’ सेवा केन्द्रका अनुसार जिल्लामा गत वर्ष महिलामाथिको हिंसाका २ सय ९३ वटा उजुरी दर्ता भएको छ । यस वर्ष साउनयता २ सय ६३ वटा जाहेरी दर्ता भइसकेको छ । सेवाकेन्द्रले छलफल माध्यमबाट हिंसाको घटना मिलाउँदै आएको छ । दुवै पक्ष मिल्न नसकेको अवस्थामा अदालतमा मुद्दा दिने गरेको सेवा केन्द्रले जनाएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?