कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कमसल सीसीटीभी क्यामराले अनुसन्धानमा समस्या

राजमार्गमा जडान गरिएका अधिकांश सीसीटीभी क्यामरा कामचलाउ भएकाले रातमा सवारीसाधनको नम्बरसमेत प्रस्ट देखिँदैन
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिका–५ चिडियादहका ३५ वर्षीय समीर पराजुलीको गत शुक्रबार राति मृत्यु भयो । प्रहरीले सवारी दुर्घटनामा उनको मृत्यु भएको मुचुल्का गर्‍यो । दुर्घटना गराउने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ पनि गरिसकेको छ । मृतकका परिवारले घटना ‘रहस्यमय’ भनेपछि प्रहरीले राजमार्गमा जडित सीसीटीभी क्यामराबाट अनुसन्धान थाल्यो तर कमसल क्यामराका कारण अनुसन्धानमा आशातीत सहयोग नमिलेको प्रहरीको भनाइ छ ।

कमसल सीसीटीभी क्यामराले अनुसन्धानमा समस्या

पराजुली त्यस रात स्थानीय जगदीश ठाकुरको छोरीको विवाहमा भोज खान गएका थिए । उनी ठाकुरको गाउँ राजपैडाबाट नहरको बाटो हुँदै सन्तपुर–चन्द्रनिगाहपुर खण्डको मोथियाही पुलमा राति ११ बजेर ५७ मिनेटमा मोबाइलको लाइट बालेर निस्केको सीसीटीभी फुटेजमा देखिन्छ । त्यसपछि उनी दक्षिणतर्फ लाग्छन् । सन्तपुर र सशस्त्र प्रहरीको बेसक्याम्पअगाडि रहेको सीसीटीभी क्यामरामा उनी हिँडिरहेको कैद भएको छ । त्यसपछि बेसक्याम्पबाट केही पर राजमार्गमा उनी दुर्घटनामा परेको भन्दै प्रहरीमा फोन गरिएको थियो ।

सूचनापछि घटनास्थल पुगेको प्रहरीले पराजुलीलाई रगताम्मे अवस्थामा फेला पारेको थियो । तत्कालै चन्द्रपुर अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । उनको हत्या भएको हुन सक्ने भन्दै परिवारले थप छानबिनको माग गरेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आसपासको क्षेत्रमा उपलब्ध सीसीटीभी क्यामरा जाँच थालेको थियो । तर, राजमार्गमा जडित अधिकांश सीसीटीभी क्यामरा कामचलाउ भएकाले रातमा सवारीसाधनको नम्बर नै देखिएन । इलाका प्रहरीका डीएसपी लीलाराज लामिछानेले रातमा राजमार्गका कुनै पनि क्यामराबाट सवारीसाधनको नम्बर खुट्याउन नसकिने अवस्था रहेको बताए । यसले हरेक दुर्घटनाको छानबिन प्रभावित हुने गरेको उनको भनाइ छ । ‘राजमार्गमा राखिएका सीसीटीभी क्यामरामा रातको समयमा सवारीसाधन आउजाउ गरेको देखिन्छ तर नम्बर फिटिक्कै देखिँदैन,’ उनले भने, ‘पराजुली मात्रै होइन । राजमार्गमा घटेका कैयौं घटनामा सवारीको नम्बर नदेखिँदा पिडक पहिचान गर्न समस्या परेको छ ।’

चन्द्रपुर नगरपालिकाले ५० लाख रुपैयाँ खर्चेर केही महिनाअघि मात्रै पूर्वपश्चिम राजमार्गअन्तर्गत गौर–चन्द्रनिगाहपुर खण्ड, टेकानटोल, पुरानो बजारलगायत क्षेत्रमा ३२ वटा सीसीटीभी क्यामरा जडान गरेको थियो । ती क्यामरा उच्च प्रविधिको नभएको र सस्तो पनि भएकाले प्रभावकारी नभएको प्रहरीको भनाइ छ ।

गरुडा नगरपालिकाले ३ वर्षअघि बजार र नगरक्षेत्रमा ८ लाख रुपैयाँ खर्चेर जडान गरेका १० वटा सीसीटीभी क्यामरा पनि सबैजसो बिग्रिसकेका छन् । नगरपालिका कार्यालयअगाडि रहेको एउटा मात्र चालु अवस्थामा छ । नगरपालिकाका सूचना अधिकारी भूपनारायण यादवले केवल टीभी कम्पनीहरूले पोलमा आफ्नो तार टाँग्ने क्रममा क्यामरा बिगारेको दाबी गरे । ‘क्यामरा सबै राम्रै छन् तर केवलवालाहरूले तार चुँडाएकाले समस्या आएको हो,’ उनले भने, ‘चाँडै तार जडान गरी सञ्चालनमा ल्याउँछौं ।’

न्यून गुणस्तरीय सीसीटीभी क्यामराकै कारण बजार र राजमार्ग क्षेत्रमा सवारी दुर्घटना, विभिन्न आपराधिक घटना घट्दा सत्यतथ्य पत्ता लगाउन निकै कठिनाइ भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी श्रीराम भण्डारीले गुनासो गरे । ‘पालिकाले नाम मात्रकै क्यामरा जडान गरिदिएको छ । त्यसमा पनि अहिले सबै बिग्रिएर कामै नलाग्ने भएका छन्,’ उनले भने, ‘हामीले कैयौं पटक नगरपालिकालाई राम्रो र उच्च प्रविधिको जडान गर्न अनुरोध गरिसक्यौं तर कुनै सुनवाइ भएको छैन । कुनै अप्रिय घटना भइहालेमा अनुसन्धानमा समस्या पर्छ ।’

जिल्लाभरमा गौर–चन्द्रनिगाहपुर सडकमा धेरै सवारी दुर्घटना हुने गर्छन् । तर पर्याप्त मात्रामा र आवश्यक स्थानमा क्यामरा जडान गरिएको छैन । जडान गरिएका पनि कामचलाउ मात्र छन् । जिल्लाका १८ वटै स्थानीय तहले राजमार्ग रबजार क्षेत्रमा सीसीटीभी क्यामरा जडान गरेका छन् । ती सबै समान्य खालका हुन् ।

बारास्थित पूर्वपश्चिम राजमार्गमा भने उच्च प्रविधिको एएनपीआर क्यामरा जडान गरिएको छ । क्यामरा जडान गर्ने चन्द्रनिगाहपुरका प्राविधिक वरुण साहले राष्ट्रिय राजमार्ग र चन्द्रनिगापुरमा गरी जिल्लाभरमा २ वटा मात्रै उच्च प्रविधिको क्यामरा जडान गरिएको बताए । ‘अन्य स्थानमा सामान्य ४ र ८ एम्पियरको पीटीजेड क्यामरा जडान गरिएको छ,’ उनले भने, ‘यसले समान्य गतिविधिमात्र कैद गर्न सक्छ । रातमा सवारीसाधनको नम्बर प्रस्ट देखिँदैन ।’

प्रकाशित : फाल्गुन १३, २०७८ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?