कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भन्सारमै थन्किए गाडी

शिव पुरी

रौतहट — गौरस्थित भन्सारको प्रवेशद्वारदेखि कार्यालय भवनसम्मै मोटरसाइकलको लस्कर छ । कोचाकोच गरी राखिएका ती सबै मोटरसाइकल चोरीपछि बरामद गरिएको हो ।

सुरक्षा निकायबाट बरामद साना तथा ठूला सवारीसाधनले भन्सार कार्यालयको प्रहरी चौकी र सशस्त्र प्रहरीको भन्सार बेस पनि भरिभराउ छ । चौकीका इन्चार्ज अजय अधिकारीले बाटोभरि सवारीसाधन राखिएपछि कार्यालय प्रवेश गर्न असहज भएको बताए । ‘अब एउटा पनि सवारीसाधन राख्ने ठाउँ छैन,’ उनले भने, ‘समयमा लिलाम गरिदिए राजस्व पनि उठ्थ्यो र ठाउँ पनि खाली हुन्थ्यो ।’ चौकी परिसरमा ३ सयभन्दा बढी मोटरसाइकल छन् ।

सुरक्षा निकायले रौतहटका विभिन्न स्थानबाट चोरी, तस्करी र अवैध सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधन बरामद गरी भन्सारमा बुझाए पनि लिलाम हुन सकेको छैन । वर्षाका बेला पानीमा डुब्दा पार्टपुर्जा खिया लागेर कामै नलाग्ने भएका छन् । कतिपय राम्रै सवारीसाधन अहिले कबाड (स्क्र्याच) मा जाने अवस्थामा छ । त्यस्ता सवारीसाधन भन्सारले मूल्यांकन गरेर लिलाम गर्नुपर्छ । तर, ५ वर्षदेखि लिलाम हुन सकेको छैन ।

भन्सारले समयमै लिलामी प्रक्रिया अगाडि नबढाइदिँदा करोडौंको मूल्य पर्ने महँगा सवारीसाधनहरू कबाड बन्दै गएको हो । यहाँ दुईपांग्रे र चारपांग्रे गरी ८ सय ६५ वटा सवारीसाधन थन्किएको छ । कार्यालयका सूचना अधिकारी अभिजितकुमार सिंहले लिलाम प्रक्रियाको कुनै सुरसार नरहेको बताए । ‘कार्यालयमा कर्मचारी नै छैनन् । जनशक्ति नहुँदा लिलामको कुनै सम्भावना छैन,’ उनले भने । उनले लिलाम हुन नसक्दा सवारीसाधन कबाड बन्दै गएको स्विकारे । यसअघि भन्सारले चाँडै प्राविधिकसहितको टोली मगाएर लिलाम गर्ने जनाएको थियो ।

भन्सार कार्यालयका अनुसार सवारीको उत्पादन वर्ष पत्ता लगाउन सम्बन्धित एजेन्सीलाई लेखेर पठाउनुपर्छ । त्यहाँबाट खुलेर आएपछि भन्सार विभागको प्राविधिक इन्जिनियरको टोलीले मूल्यांकन गर्छन् । कबाडमा जाने भए त्यसलाई कम र चल्ने अवस्थाको भए बढी मूल्यांकन गरिन्छ । त्यसपछि राष्ट्रिय दैनिकमा २१ दिने सूचना निकालेर लिलाम गर्नुपर्ने प्रावधान छ ।

प्रकाशित : माघ २०, २०७८ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?