कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लापर्बाहीले समुदायमा संक्रमण

दिनहुँ संक्रमितको संख्या बढिरहे पनि परीक्षण र रोकथाममा पालिकाहरु उदासीन
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीमा सुरक्षा र सावधानी नअपनाउँदा समुदायमा कोरोना संक्रमण फैलिएको छ । लक्षण भएका बिरामीको पीसीआर परीक्षण गर्दा ८६ प्रतिशतभन्दा बढीमा संक्रमण देखिन थालेपछि समुदायमा फैलिएको आशंका गरिएको हो । 

लापर्बाहीले समुदायमा संक्रमण

जिल्ला अस्पतालको पीसीआर ल्याबमा गरिएको स्वाब परीक्षणमा दिनहुँ कोरोना संक्रमितको संख्या बढिरहेको छ । बिहीबार मात्र जिल्लामा ६६ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार परीक्षण गरिएको ३६ जनाको स्वाबमा २४ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै शनिबार २२ स्वाबमध्ये १९ जनालाई संक्रमण पुष्टि भएको थियो । जुन परीक्षण गरिएको संख्याको ८६ प्रतिशतभन्दा बढी हो । यस पटक जिल्लामा जम्मा १ सय ९ जना संक्रमित भएकोमा ६७ जना पूर्ण रूपमा निको भइसकेका छन् भने ४२ जना सक्रिय संक्रमित रहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयका प्रमुख रहेका डा. नवलकिशोर झाले सुरक्षा र सावधानी नअपनाउँदा दिन प्रतिदिन संक्रमितको संख्या बढिरहेको बताए । उनले जाँचको दायरा बढाए यो संख्या निकै बढी हुने जानकारी दिए । झाले कोरोनाको तेस्रो भेरिएन्ट न्यूनीकरणका लागि स्थानीय तहले कुनै पनि भूमिका नखेलेको गुनासो गरे ।

नेपाल–भारत खुला सीमा र कोरोनाको हटस्पटका रूपमा रहेको काठमाडौंबाट बिनारोकटोक आवतजावत भइरहेकाले पनि संक्रमितको संख्या बढाउन मद्दत पुगेको उनको भनाइ छ । ‘घरघरमै ओमिक्रोन फैलिएको छ, तर नियन्त्रणमा स्थानीय तहको कुनै भूमिका देखिएको छैन,’ झाले भने, ‘अझै पनि सुरक्षा र सावधानी नअपनाउने हो भने यो संख्या धेरै बढ्छ, पछि हाम्रो नियन्त्रणमै रहँदैन, स्थानीय तहलाई सहयोग गर्न हामी तम्तयार छौं, तर उहाँहरूले कुनै वास्ता गर्नुभएको छैन ।’

जिल्लामा हरिवन र गोडैता नगरपालिकामा समेत यसपटक स्वाब संकलन हुनसकेको छैन । हरिवनले घरघरमा पुगेर खोप अभियान सञ्चालन गरे पनि गोडैताले यसपटक सीमामा हेल्थ डेस्क मात्र सञ्चालन गरेको छ ।

गौडैताका स्वास्थ्य संयोजक प्रमोद पण्डितले अधिकांश बस्तीमा उच्च ज्वरो र रुघाखोकीको बिरामी भए पनि कोरोनाको जाँच हुन नसकेको बताए । उनका अनुसार पालिकाबाट परीक्षण गर्ने निर्णय हुनसकेको छैन । कविलासी नगरपालिकाका स्वास्थ्य संयोजक सञ्जय झाले पनि पालिकाबाट निर्णय हुन नसक्दा स्वाब संकलन हुन नसकेको जानकारी दिए । उनीहरूले प्रत्येक वडामा नमुना लिएर परीक्षण गर्ने योजना रहेको जनाए । ‘गाउँघरमा ज्वरो र रुघाखोकीका बिरामी बढेका छन्, यी सबै कोरोनाका लक्षण पनि हुन्, तर हामीले अहिलेसम्म जाँच गर्न सकेका छैनौं,’ गोडैताका स्वास्थ्य संयोजक पण्डितले भने, ‘पालिकाबाट निर्णय आएपछि प्रत्येक वडाबाट स्वाव संकलन गर्ने योजना छ ।’

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले यस पटक पीसीआर प्रविधिबाट जाँच गर्नुभन्दा एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको जानकारी दिए । उनले एन्टिजेन विधिमा पोजिटिभ देखाएकालाई होम आइसोलेसनमै बस्ने व्यवस्था मिलाएको बताए ।

प्रकाशित : माघ ११, २०७८ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?