पर्सामा बालकको हत्या आरोपमा एकै परिवारका ५ जना पक्राउ- मधेस - कान्तिपुर समाचार

पर्सामा बालकको हत्या आरोपमा एकै परिवारका ५ जना पक्राउ

भूषण यादव

वीरगन्ज — पर्साको जगरनाथपुर गाउँपालिका– ६ निवासी एक १२ वर्षीय बालकको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ५ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ।

गत पुस २३ मा दिउँसो करिब ४ बजे उखु खेतमा १२ वर्षीय मन्टु प्रसाद कुर्मीको शव फेला परेको थियो । घाँटी थिचेर हत्या गरी फालेको अवस्थामा मन्टुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पुरानो मुद्दाको रिसइबीका कारण मन्टुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मृतक मन्टुका बुबा नागेश्वर प्रसाद कुर्मीले दिएको किटानी जाहेरी तथा अनुसन्धानबाट हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पाँच जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जनाए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका– ६ निवासी ६४ वर्षीय गोबारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन यादव, ३० वर्षीय मनमोहन यादव र २५ वर्षीय रोहन यादव रहेका छन् ।

‘मन्टुको हत्यमा संलग्न रहेका ५ जना पक्राउ परेका छन्,’ डिएसपी खनालले भने, ‘अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान थालिएको छ । मुद्दा मामिलाको रिसइबीका कारण हत्या गरेको देखिन्छ ।’

प्रकाशित : माघ १०, २०७८ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्

पुरानो बसपार्कमा अपांगतामैत्री स्टेसन

रासस

काठमाडौँ — काठमाडौंको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारी साधनमा चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारीमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्ने ठाउँको व्यवस्था गरेको जनाएको छ ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधन चढ्नका लागि लामो बाटो हिँड्नुपर्ने समस्या भएकाले पुरानो बसपार्कबाट बस चढ्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जाने महाशाखा प्रमुख जोशीको भनाइ छ ।

महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुलाई तोकिएको स्थानबाट मात्रै ‘पिक एण्ड ड्रप’ गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित : माघ १०, २०७८ १९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×