कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री रेणुकुमारी यादवको विरोध र समर्थनमा दिनहुँ प्रदर्शन

श्यामसुन्दर शशि

जनकपुर — बलिदानी दिवसको अवसरमा पुस ५ गते रौतहटमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले दिएको विवादित अभिव्यक्तिको विरोध र समर्थनमा जनकपुरमा नित्य प्रदर्शन हुन थालेको छ । मधेसमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेका बेला यस्ता जमघटहरूले कोरोना ग्राफ अझ बढ्ने र दुईपक्षीय भिडन्तको अवस्था सिर्जना हुन सक्ने भन्दै समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । 

मन्त्री रेणुकुमारी यादवको विरोध र समर्थनमा दिनहुँ प्रदर्शन

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, धनुषाले आइतबार विवादित अभिव्यक्ति दिने रेणुकुमारी यादवको राजीनामाको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन गरेको थियो । युवा संघले विरोध प्रदर्शन गरेको २४ घन्टा नबित्दै मन्त्री यादव सम्बद्ध जनता समाजवादी पार्टीको भ्रातृसंगठन समाजवादी महिला संघले सोमबार मन्त्री यादवको पक्षमा प्रदर्शन गरेको छ ।

युवा संघनिकट युवाहरूले लोकतान्त्रिक समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री यादवको पुत्ला जलाउनुका साथै मन्त्री यादवको राजीनामासमेत मागेको थियो ।


मन्त्री यादवको राजीनामा माग गर्दै आइतबार एमालेनिकट युवा संघले गरेको प्रदर्शन । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर

सोमबार समाजवादी महिला संघले प्रदर्शन गरेको जुलुसमा मन्त्री यादवमाथि झुठा आरोप लगाइएको तथा जनमत पार्टी र एमालेनिकट युवा संघले आन्दोलनको नाममा झुठा आन्दोलन गरेको आरोप लगाउँदै उनिहरूविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

यसअघि जसपानिकट युवा समाजवादीका अध्यक्ष तथा मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बलिदानी दिवसको अवसरमा सहिदहरूलाई सम्मान गर्न गएकी मन्त्री रेणुकुमारी यादवमाथि जनमत पार्टीका अध्यक्ष सिके राउतको निर्देशनमा सांघातिक हमला गर्न खोजिएको आरोप लगाएका थिए । उनले एउटी महिला मन्त्रीमाथि गर्न खोजिएको हमलाको विरोध गर्नुपर्नेमा उनीमाथि झुठा आरोप लगाउन थालिएको बताएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको पक्षमा सोमबार प्रदर्शन गर्दै जसपानिकट समाजवादी महिला संघका नेता/कार्यकर्ताहरू । तस्बिर : श्यामसुन्दर शशि/कान्तिपुर

कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापनका लागि गठित तीनै तहका समितिले कोभिड लक्षित विशेष मापदण्ड जारी गरेको छ‚ जसमा २५ जनाभन्दा बढी जम्मा हुन रोक लगाइएको छ । विद्यालयहरू बन्द छन् । सघन खोप तथा बुस्टर डोज अभियान संचालन गरिएको छ । अझ धनुषास्थित समितिले त मास्क नलगाई हिँड्नेसँग एक सय रुपैयाँ जरिवानासम्म गर्ने निर्णय नै गरेको छ । तर यस्तो विषम परिस्थितिमा पनि यहाँ पार्टी प्रवेश, विरोध तथा समर्थनमा प्रदर्शनहरू हुँदै आएका छन् । विज्ञ चिकित्सकहरूले यस्ता गतिविधिले कोरोना संक्रमण अझ बढ्ने चेतावनी दिएका छन् ।

‘पछिल्लो पटक देखिएको ओमिक्रोन यसअघिको डेल्टा भेरिएन्टभन्दा ५ गुणासम्म अधिक फैलन सक्छ । एकै पटक धेरै सक्रमित भए हाम्रो स्वास्थ्य संरचनाले धान्न सक्छ कि सक्दैन ? हाम्रो चिन्ताको विषय यही हो‚’ तत्कालीन जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट वरिष्ठ फिजिसियन डा विजयकुमार सिंहले भने ।

प्रकाशित : माघ १०, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?