कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले रौतहटको नेतृत्व चयनमा विवाद

रौतहट — एमाले रौतहटमा नेतृत्व चयनको विषयमा विवाद चुलिएको छ । ९ औं जिल्ला अधिवेशनमा निर्विरोध नेतृत्व चयन भए पनि लोकतान्त्रिक विधिअनुसार निर्वाचन नभएसम्म साबिक जिल्ला कमिटी मौजुदा रहेको पूर्वअध्यक्षसहितको भेलाले निर्णय गरेपछि विवाद चुलिएको हो ।

एमाले रौतहटको नेतृत्व चयनमा विवाद


अधिवेशनबाट निर्विरोधको प्रक्रिया गलत भएको भन्दै निवर्तमान जिल्ला अध्यक्ष तुलसीराज गिरीले तुल्सीलाल अमात्य सभा भवन गरुडामा छुट्टै भेलाको आयोजना गरेका छन् । गिरीले गत माघ २ मा कटहरिया नगरपालिकामा सम्पन्न अधिवेशनमा अध्यक्ष मण्डलले प्रस्तावित गरेको कमिटीलाई बन्दसत्रको हलले पूर्णरूपमा अस्वीकार गरेको दाबी गर्दै साबिककै जिल्ला कमिटीलाई निरन्तरता दिने बताएका हुन् । ‘निविरोधको प्रक्रिया नै गलत छ,’ उनले भने, ‘निर्वाचन प्रणालीबाट जानुपर्नेमा एकलौटी ढंगबाट कमिटीको नाम पढियो । यो मान्य हुँदैन ।’

जिल्ला अधिवेशन एमाले केन्द्रीय सचिव प्रदीप ज्ञवालीले अधिवेशन उद्घाटन गरेका थिए । त्यसपछि बन्द सत्रमा अध्यक्ष मण्डलले गरेको निर्णय मान्य हुने सहमति भएअनुसार पार्टीको जिल्ला अध्यक्षमा त्रिभुवन साह चयन भएका अध्यक्ष मण्डलका अध्यक्ष उपेन्द्र साहले बताए ।

‘बन्द सत्रको हलले म्यान्डेट दिएपछि अध्यक्षमा साहको नाम चयन भएको हो । यसमा विधिविधान सम्मत भएको मान्नुपर्छ,’ उनले भने, ‘छलफल र सहमतिअनुसार सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो । अब साबिकको कमिटी रहँदैन ।’ निविरोध निर्वाचित भएका साह एमाले नेता प्रभु साहनिकट हुन् ।

प्रकाशित : माघ ६, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?