सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा मजदुरको मृत्यु- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा मजदुरको मृत्यु

रासस

काठमाडौँ — सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ । स१त २७६ नंको ट्र्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६ स्थित कोसीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका रामसेवक सदाको छोरा २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

ट्र्याक्टरका चालक खाना खाइरहेको बेला ट्र्याक्टर गुडाएर सदा माटो लिन गएका थिए । सोही क्रममा ट्र्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

ट्र्याक्टर पल्टिएर पानीमा डुबेको शव प्रहरीले शनिबार बाहिर निकालेको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । ट्र्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित : माघ १, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्

थारु समुदायमा माघीको हर्षोल्लास

कान्तिपुर संवाददाता

काठमाडौँ — थारु समुदायको प्रमुख पर्वमध्ये एक मानिने माघी अर्थात् नयाँ वर्ष धुमधामसाथ मनाइएको छ । थारु समुदायले हरेक वर्ष माघ १ गतेको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।

यस वर्ष पनि उनीहरूले नदीमा स्नान गर्नुका साथै खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका छन् । साथै यस अवसरमा दान गर्ने पनि प्रचलन छ ।

देशका विभिन्न सहरमा ससाना समूह मिलेर शुभकामना आदानप्रदान गरेर थारु समुदायले माघी पर्व मनाइरहेका छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्छ ।

यस पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामसाथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला-बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायमा छ ।

बेलुका आगनमा मुढा बालेर धुनी जगाइन्छ । र धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गरिन्छ । यस समुदायमा माघ १ देखि ५ दिनसम्म आफू स्वतन्त्र भएको अनुभव गर्ने बताइन्छ ।

साथै सक्नेहरू चार धाम जाने र नसक्नेहरूले नजिकको तीर्थस्थलमा गई गच्छेअनुसार दान गर्ने चलन छ । यस्तै कुनै कारणले श्राद्ध कर्म रोकिएकाले यसै दिन श्राद्ध गर्दा कर्म पूर्ण हुने पनि जनविश्वास छ ।

माघीका दिन अधिकांश स्थानमा आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्ने चलन थारु समुदायमा छ । थारु समुदायमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुने मानिन्छ । जुन बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

विशेषगरी तराईका थारु समुदायले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् ।

सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई थारु समुदायमा स्वतन्त्रता दिवसको रुपमा समेत मनाइन्छ ।

प्रकाशित : माघ १, २०७८ १८:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×