कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित बस्तीमा चिसोको कहर

कठ्यांग्रिएर १ को मृत्यु, प्रभावितलाई कम्बल वितरण
भरत जर्घामगर

सिरहा — तराईमा चिसोको कहर सुरु भएको छ । चिसोले सिरहाका विशेष गरी सुकुम्बासी दलित बस्तीका वृद्धवृद्धा, बालबालिका प्रभावित भएका छन् । न्यानो लुगा अभावमा बर्सेनि ती बस्तीका सर्वसाधारणले ज्यान गुमाउनुपरेको छ ।

दलित बस्तीमा चिसोको कहर

चिसोकै कारण सिरहा कल्याणपुर नगरपालिका–१ अर्नामाकी ६३ वर्षीया पल्टी सदाय मुसहरको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–१ का वडाध्यक्ष राजाराम कामतीका अनुसार भत्किएको घरमा बस्दै आएकी पल्टीको बुधबार बिहान चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । उनलाई ओढ्ने ओछ्याउनेको अभाव थियो ।

दलित बस्तीका अधिकांशको जाडो काट्ने मेलो भनेकै पराल र घुर (आगो) को सहारा हो । अधिकांश ज्याला मजदुरीमा काम गर्छन् । जाडो लाग्नासाथ टोलका बासिन्दा अधिकांश गुइँठा र पराल बालेर रात काट्ने चलन छ । चिसो बढेसँगै लहान नगरपालिकाले पुस ३० गतेसम्मका लागि विद्यालयहरुमा जाडो बिदा दिएको छ । प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले सूचना जारी गरी चिसोका कारण बालबालिकालाई विद्यालयमा आउजाउमा समस्या हुने भएको भन्दै जाडो बिदा दिएको बताए । बढ्दो स्याँठसँगै चिसोका कारण कोल्ड डायरिया, ज्वरो, हाडजोर्नी, रुघाखोकी बिरामी बढेका छन् ।

यसैबीच, चिसोबाट दलित बस्तीका वृद्धवृद्धा प्रभावित भएपछि नेपाली कांग्रेस सिरहा क्षेत्र १ का सभापति महेश चौधरीले कम्बल वितरण गरेका छन् । लहान नगरपालिकाका ५ वटा वडाका दलित विपन्न बस्तीमा २ सय २७ परिवारलाई कम्बल वितरण गरेको उनले जानकारी दिए । डिभिजन वन कार्यालय लहानले पनि आगो बाल्न चोक चोकमा दाउरा वितरण गरेको छ । स्थानीयले न्यानोको व्यवस्थाका लागि पालिकाले सहयोग गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित : पुस २५, २०७८ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?